लेखक : युवराज बाँस्कोटा यज्ञ
नेकपा एमाले निर्वतमान केन्द्रिय सदस्य
आज माघ ६ गते । हठात् विघठित संघीयसभा पुननिर्माणका लागि हुने चुनावमा चाहिने उम्मेदवार मनोनयन हुने दिन । इतिहास निर्माण गर्न यसको दह्रो जग हाल्ने दिन । सम्बद्ध सबैलाई शुभकामना !
नेकपा (एमाले) सम्बद्ध प्रिय कमरेडहरू,
हामीभित्र निश्चय नै केही न केही नमिलेका पक्षहरू छन्, यदाकदा असन्तुष्टिहरू छन् र परस्पर केही मनमुटावहरू पनि छन् । एउटा जीवन्त पार्टीमा यस्तो हुन्छ पनि । तथापि, यसलाई फगत ढाल बनाएर आजबाट हुने हाम्रो सक्रियतामा अलिकति पनि कमजोरी रह्यो भने, यत्ति पनि उदासिनता प्रकट भयो भने र अन्तरकुन्तरमा देखाइदिउँला भन्ने दूराशय रह्यो भने हामी स्वयंमा पछाडि धकेलिन्छौँ, इतिहासको पानामा आजको दिनलाई अँध्यारोभित्र खोजिनुपर्ने समय आउन सक्छ । फलतः समृद्ध नेपाल निर्माण गर्न चाहने नयाँ पुस्ताले हामीलाई दुत्कार्ने छन्, लल्कार्ने छन् र फट्कार्ने छन् ।
आसन्न निर्वाचन अरु बेला हुनेजस्तो सामान्य घटना वा परिघटना होइन । जेनजी उमेर समूहका हाम्रा भाइबहिनीहरूको मलिन अपेक्षा, विद्रोहपूर्ण चेत र यसलाई हाइज्याक गर्ने घुषपैठियाहरुलाई समेत सम्बोधन र व्यवस्थापन गर्ने निष्कर्ष यो चुनावले निकाल्न सक्नुपर्छ ।
जनताको बहुदलीय जनवाद निर्दिष्ट हामी राजनीतिक विद्यार्थीका लागि यो चुनाव समाजमा सल्बलाएको अस्तित्व र सहअस्तित्वमाझ स्वस्थ्य प्रतिस्पर्धामार्फत श्रेष्ठता हासिल गर्ने कडी हो । शक्तिसञ्चय गर्ने, चुनावमा जाने र जनअनुमोदनमा रहने हाम्रो सैद्धान्तिक मूल्यनिर्देशित वर्गसंघर्षको मापनको कडी पनि हो यो चुनाव । राजनीतिक हिसावले हेर्दा यो चुनाव अराजकता, आततायी, अस्थिरता, विद्रोह, विध्वंस आदि गतिविधिलाई ठेगान र थान्को लगाउने लडाइँको मोर्चा हो । अर्थात्, ऐतिहासिक संविधानसभामार्फत प्राप्त संविधान, लोकतन्त्र, सार्वभौम राष्ट्रको भविष्य निर्माण गर्ने आधारसहितको प्रस्थान बिन्दु हो । यसक्रममा बहुसंख्यक ग्रामीण श्रमिक, किसान, युवा, महिला र आमनागरिकको हकअधिकार सुरक्षित राख्ने समय हो ।
चुनाव टिकट पाएको अमुक व्यक्ति विशेषको होइन, राजनीतिक लडाइँको अग्रभागमा रहेको एमालेको हो । अर्थात् हाम्रो हो । कुनै एकजना व्यक्ति आफैंमा पार्टी प्रतिनिधि मात्र हो, एउटा उम्मेदवार मात्र हो, लडाइँमा जित्ने वा हार्ने पार्टीले हो । तपाई हामी सबै संगठित, अनुशासित र एकताबद्ध रहँदा पक्का जित हुन्छ, अझ फराकिलो मतान्तरसहितको जित सुनिश्चित हुन्छ ।
टिकट पाएकादेखि लिएर टिकट दिलाएकाले आफू चाहिँ के के ठूलो हो भनेर दम्भ, घमण्ड र अहंकार नपालौँ ! अस्ति पार्टी जीवनको आन्तरिक प्रतिस्पर्धामा केही मतान्तरले हारियो होला ! म र मजस्तालाई हरुवा, रावलमतिका आदि–आदि भनेर तपाई कोही नहिड्नुस्, बरु सबैले सबैलाई अँगालो हालौँ !
एउटा मत निर्णायक बन्न सक्छ भन्ने यथार्थलाई जिम्मेवारीबोध गरौँ ! यसनिम्ति यो बेला साँच्चिकै एकताबद्ध एमाले निर्माण गरौँ ! परस्पर सहकार्य र दृढ संकल्पका साथ अघि बढौँ ! माघको चिसो काटिरहेका मतदाताका घर–घरमा पुगौँ ! झोपडीभित्र उकुसमुकुस आवाजविहिन मतदातालाई सुनौँ ! हामीमाथिको रहेको आशा, भरोसा र विश्वासलाई पुनर्जागृत गरौँ ! तिनको मायामा लुटपुटिँदै विश्वास जितौँ ! वर्गदृष्टिकोण र पक्षधरता लिँदै तिनको मन जितौँ र मत प्राप्त गरौँ ! नेपाली राजनीतिमा मडारिएको कालो बादल आफैंमा अनिष्टको संकेत हो, यसलाई तपाई हामी सबै मिलेर सहज परास्त गरौँ !
मतदाताको आश : एमालेको साथ
हार्दिक शुभकामना !



