फुटबल प्रिमियर लिगः शिखर एफसी विजय सुरुवात

सनम रोक्का,

फागुन १९ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर स्थित ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ को उद्घाटन खेलमा शिखर एफसी विजयी भएको छ । विहिबार भएको उद्घाटन खेलमा वि एण्ड वि वाईजिएफटीलाई ०–१ गोलको अन्तरले शिखर एफसी विजयी भएको हो ।

खेलमा शिखर एफसीका सौर्य राउतको एक गोल नै जितको लागि निर्णायक गोल बनेको थियो । राउतले दोस्रो हाफको ४५ औं मिनेटमा कप्तान देवराज गुरुङको पासमा गोल गरेका थिए । उद्घाटन खेलको म्यान अफ दी म्याच शिखरका निर्णायक गोलकर्ता राउत राउत घोषित भए । कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख दिलिपकुमार राईले नगरमा फुटबल, क्रिकेट र बुद्धिचाल (चेस) प्रतियोगिताले स्थानीय खेलाडीको उत्पादनको साथै नगरपालिकाको प्रचारमा टेवा पुग्दै आएको बताए । खेल र खेलाडी बिकासको लागि नगरपालिकाले पर्याप्त सहयोग गर्दै आएको पनि बताए ।

कार्यक्रमको बिशिष्ट अतिथि अखिल नेपाल फुटबल संघ मोरङ जिल्ला अध्यक्ष दीपेन्द्र धिमालले पथरीशनिश्चरे नगरका खेलाडीहरु नेपालको ए, बी र सी डिभिजनको साथै मोरङ जिल्ला ब्यापी फुटबल प्रतियोगतामा प्राय सबै टिममा पथरीशनिश्चरेका फुटबल खेलाडी रहने गरेको बताए । कार्यक्रममा लिगको टाइटल स्पोन्सर इन्ट्रा नेशनल वेलफेर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको तर्फबाट राम बानियाले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरीका निमित्त प्रमुख इन्स्पेक्टर कमल राजबंशी, चलचित्र कर्मी (नायक) रमित ढुङ्गाना, पथरी क्याम्पस प्रमुख चेतन पौडेल, पञ्चायत माबिका प्रमुख अर्जुन बुढाथोकी, स्थानीय समाजसेवी प्रदिपकुमार राई, भीम राई, कमल हाङबाङ, प्रेम ढकाल, गणेश थक्लुङ, वडा अध्यक्षहरु गोबिन्द भण्डारी, कपिलमणी ढकाल, भलिबल प्रतियोगिता आयोजक समितिका अध्यक्ष रबिन राई लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा रेड स्टार बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरुले नगर गितमा नृत्य प्रस्तुत गरेका थिए भने अन्नपुर्ण स्कुलमा बालबालिकाहरु कार्यक्रममा सहभागि रहेका थिए । आयोजक समितिको अध्यक्ष संजिप गिरीको सभापतित्वमा भएको उद्घाटन खेल अघि लिम्बू समुदायको च्याबु्रङ, राई समुदायको साकेला नृत्य प्रस्तुत भएको थियो । उद्घाटन कार्यक्रम सचिव मनि लिम्बूले सञ्चालन गरेकाथिए ।

भोलि शुक्रबारको खेल लिगको पहिलो संस्करण विजेता १० नवोदय र वाईएफसीएफसी बीच हुने आयोजकका सचिव मनी लुम्फुवा लिम्बुले जानकारी दिए ।

 

तस्विर : लङसिङ श्रेष्ठ

 

सम्बन्धित खवर