मंसिर १२ गते, पथरी । मोरङको पथरीशनिश्चरे ५ हसन्दहमा अस्थाई प्रहरी चौकीको पोष्ट शुक्रबार स्थापना भएको छ । प्रहरी चौकीको नगर प्रमुख दिलीपकुमार राई, प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, जिल्ला प्रहरी कार्यालय प्रमुख सन्तोष खड्का र नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले संयरुक्त रुपमा उद्घाटन् गरेका थिए ।
नगरको दक्षिणी भूभागका रुपमा रहेको ५ र ६ नम्वर वडामा पर्ने हसन्दह क्षेत्रको सुरक्षाका लागि सो प्रहरी चौकीले सहजता प्रदान गर्ने वक्तहरुले बताएका छन् ।
स्थानीय समाजसेवी बलबहादुर निरौलाले प्रहरी चौकीका लागि तात्कालिन अवस्थामा ५ कठ्ठा २ धुर जग्गा दान गरेपछि १० वर्ष अघि हसन्दह गाविसले २ कोठे भवन निर्माण गरेको थियो । तर त्यहाँ आवश्यक प्रहरी दरवन्दी व्यवस्थापन नहुँदा भवन मात्र रहेको अवस्थामा नगरपालिका र प्रहरी निकायको लगातारको ताकेतापछि ०७७ मंसिर ४ गते अस्थाई प्रहरी पोष्ट स्वीकृत भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलीपकुमार गिरीले बताए । त्यसपछि जुनियर प्रहरी अधिकृत ( एएसआई) को कमाण्डमा १० जना सुरक्षाकर्मीको व्यवस्थापन गरिएको उनले बताए ।
नगर क्षेत्रमा डीएसपीको कमाण्डको इलाका प्रहरी कार्यालय, एउटा प्रहरी चौकी, २ वटा शसस्त्र बेस क्याम्प, एउटा नेपाल प्रहरीको बेस क्याम्प रहेको अवस्थामा हसन्दहमा समेत प्रहरी पोष्ट खडा भएपछि सुरक्षा व्यवस्थापनका हिसावले नगर क्षेत्रमा सहजता हुने देखिएको छ ।