लकडाउनमा पहिलो र दोस्रो संविधान सभा सदस्यको जिवन शैली

बैशाख २० गते, पथरी । बिश्वमा कोराना भाइरस कोभिड–१९ को संक्रमण फैलिरदा देश लकडाउन भएको लगभग ढेड महिना पुग्न लाग्यो । नेपालमा भाइर संक्रमणको संख्या क्रमश ५९ पुगेको छ । संक्रमणको संख्या पुगेपनि भाइरस मुक्त भएर घर फर्किर्ने पनि उतिकै छ । भाइरस नेपालमा क्रमश देखा पर्दै गएको छ । यस्तो अवस्थामा नेपाल सरकारले लकडाउन खोल्ने भन्दा पनि भाइरस मुक्त गराउन लकडाउन बढाउनु पर्ने देखिन्छ ।

लकडाउनको समयमा मोरङ पथरीशनिश्चरे नगरका दोस्रो संविधान सभा सदस्य चण्डीप्रसाद राई र पहिलो सविधान सभा सदस्य लालबहादुर सुस्लिङ मगर भने फरक शैली अपनाएका छन् ।

पथरीशनिश्चरे–१० निवासी राई र वडा नं. ४ निवासी सुस्लिङ मगर लकडानको समय सदुपयोग गर्दै उत्पादनशिल क्षेत्रमा लागेका छन् । संविधान सभा सदस्य भए पछि पनि सक्रिय राजनीतिमा लागेका कारण घर परिवारलाई समय दिन नसकेका सभासदहरुले लकडाउनको समयमा भने घरकै काममा सहयोग गरेर विताएका छन् । लकडाउनले गर्दा परिवारसंगै बसेर सुख दुःखमा साथ दिन पाएकोमा आफुलाई रमाइलो लागेको उनीहरु बताउँछन् ।

सभासद राईको दिनचर्या पनि कृषी कर्ममै बढी वित्ने गरेको छ । राईले घरमै बसीबसी आम्दानी गरिरहेका छन् । उनले पहिले लेयर्स कुखुरा पालेर खाली भएको खोरमा लोकल कुखुरा पालेर आम्दानी गरेका छन् । लकडाउनको बेला घरमा श्रीमतीलाई सहयोग गर्ने, टेलिभिजन हेर्ने, इन्टरनेटमा समाचार, सुचनाहरु हेरेर दिन विताउंदै आए पनि खाली समयको सदुपयोग गर्दै कुखुरा पालेको बताउँछन् ।

त्यतिमात्र होइन, सभासद राईले सानो कोठेबारीमा अर्गा्निक तरकारी खेती पनि गरेका छन् । उनले कोठेबारीमा कांक्रा, लौका, बोडी, भिण्डी, खोर्सानी फलाएका छन् । यति थोरै जमिनमा धेरै किसिमको तरकारी फलाएर अरुलाई प्रेरणा समेत दिन सकेका छन् । सरकारद्वारा जारी लकडाउनलाई नागरिकले पालना गरेपनि त्यसलाई खुकुलो गर्नुपर्ने उनको सुझाव छ । राईले ‘त्यसले आर्थिक र व्यवसायिकरुपले देशले धान्न नसक्ने स्थिति आएकोले त्यसको परिमार्जन गरेर केही खकुलो बनाउन म सुझाव दिन्छु’ भने ।

हिजो सभासद हुंदा र अहिलेको जीवन भोगाईमा के फरक छ भन्ने जिज्ञासामा राईले भने –‘मानिसको जीवनमा विभिन्न किसिमको भूमिकाहरु अदलबदल भइनै रहन्छ, त्यो आफुले चाहेर भन्दा पनि समय र परिस्थितिले जुराएर ल्याउंछ ।’

सभासद राईले पञ्चायत माविको प्रधानाध्यापक संगसगै पूर्व एमालेबाट पाटी जिल्ला कमिटि सदस्यमा सक्रिय राजनिती गर्दै आएका थिए । उतिबेला देखि नै पथरीशनिश्चरेको नेकपाको रानितीमा अभिभावकको रुपमा स्थापित थिए । उनी सभासद भएर संविधान जारी गर्न भुमिका निभाए र अहिले नेकपा जिल्ला कमिटी सदस्य एवं शिक्षा विभाग प्रमुखको जिम्मेवारी सम्हाली रहेका छन् ।

राई जस्तै पथरीशनिश्चरे–४ निवासी पहिलो संविधान सभा सदस्य लालबहादुर सुस्लिङ मगरको दैनिकी पनि उस्तै छ । घरको काममा घरपरिवारलाई मद्दत गर्ने र बाँकी समय पुस्तक अध्ययन गर्ने । सभासद सुस्लिङ सबेरै उठेर बंगुरको आहारा बनाएर खुवाउने, बाख्रालाई घाँस दिने गर्छन् । कोरोना भाइरसका कारण विश्व मै आर्थिक संकट आइलागेको हुनाले त्यसले नेपाल अछुतो रहन नसक्ने भएकोले घरमा बस्दा समेत थोरै भएपनि आम्दानी होस् भनेर बंगुर पालन गरेको उनको भनाई छ । बंगुरलाई दाना पानी गरिसकेपछि सरसफाई गरेर बचेको समय पुस्तक अध्ययनमा वित्छ । पुस्तकमा कार्ल माक्र्स, लेनिन, स्टालिनका जीवनीका साथै कम्युनिष्ट दर्शन अध्ययनमा उनको बढी रुची रहेछ ।

लकडाउनले दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने विपन्न परिवारलाई स्थानीय सरकारले थोरै भएपनि राहत वितरण गरेर राम्रै काम गरेको उनको बुझाई छ । फेरी पनि राहतलाई व्यवस्थित गर्न नसक्दा पाउनु पर्ने ज्यालादारी गर्ने अति विपन्न परिवारले नपाएको गुनासो आइरहेको हुँदा स्थानीय सरकारले त्यस्ता परिवारको पहिचान गरी राहत वितरण गर्नुपर्ने उनको सुझाव छ । उनले भने ‘समाजका वौद्धिक व्यक्तित्वहरुसंग छलफल बहस गरेर आधारभुत वर्गसम्म राहत पु¥याउन जोड गर्नुपर्छ ।’

त्यसैगरी, पालिकाले राजधानीमा रहेका आफ्ना नागरिकलाई ल्याएर राम्रो गरेपनि उनीहरुलाई १४ दिनसम्म क्वारेन्टीनमा राखेर मात्र घर पठाउन सभासद सुस्लिङले आग्रह गरे । ‘राम्रो संगसंगै यसले रोग पनि संगै बोकेर गाउँतिर त ल्याउंदैन भन्ने लागेको छ’– सुस्लिङले भने ‘त्यसैले स्थानीय सरकारले ज्वरो छ की छैन भनेर नाप्ने मात्र होइन, क्वारेन्टीनमा राखेर परीक्षण गरिएन भनें भोली समस्या निम्तिन सक्छ ।’ उनले कोरोनालाई परास्त गर्ने एकमात्र उपाय लकडाउनलाई पूर्णरुपमा पालना गर्नु मात्र भएकोले सबैलाई बन्दाबन्दीको पालना गर्न आग्रह गरेका छन् ।

सम्बन्धित खवर