चैत २९ गते, कानेपोखरी । मोरङ कानेपोखरी –६, स्थित गुरुङ डाँडाका ७ घरपरिवारले निःशुल्क जग्गा प्राप्त पछि सो स्थानमा गाउँपालिकाले घर निर्माण गरिदिएका छन् ।
गुरुङ डाँडाका अमृत लिम्बु, एगिन गुरुङ, सुनिल विश्वकर्मा, तारा विश्वकर्मा, उषा राई, स्वस्तिका राई र चन्द्र बहादुर राईले प्राप्त गरेको जग्गामा गाउँपालिकाले घर निर्माण गरि हस्तान्तरण गरेको हो । एक कार्यक्रमको आयोजना गरी कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, उपाध्यक्ष राजमती इङ्नाम र वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत सहितले घर हस्तान्तरण गरेका थिए । सो क्षेत्रमा गाउँपालिकाको जनता आवास कार्यक्रम अन्तर्गत निःशुल्क जग्गा प्राप्त ७ घर परिवारलाई घर निर्माण गरिदिएको गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले बताए । उनले यस बस्तीमा ७ र गुरुङ चोकमै अन्य दुई घरहरु निर्माण भइसकेको बताए ।
छिमेकी दम्पती रुद्र बहादुर गुरुङ र बैजन्ती माला गुरुङले दुई महिना अघि घर विहिन ७ घरपरिवारलाई घर बस्ने जम्मा २ कट्ठा १ धुर जग्गा निःशुल्क दिएका थिए । एगिन गुरुङले ९ धुर, अरु सवै अमृत लिम्बु, सुनिल विश्वकर्मा, तारा विश्वकर्मा, उषा राई, स्वस्तिका राई र चन्द्र बहादुर राईले १ कट्टा १२ धुरको दरले एकै पलटमा जग्गा छुट्याई दिएका थिए । सोही समयमा घर विहिनले जग्गा पाएपछि गाउँपालिकाले चासो व्यक्त गरेका थिए । त्यस अघि जग्गा प्राप्त गर्ने केही आफ्न्तकोमा, केही कोठा भाडामा बस्दै आएका थिए ।
बैजन्ती माला गुरुङले घर हस्तान्तर कार्यक्रममै सवै जनालाई जग्गा धनीको प्रमाण पत्र प्रदान गरेकी थिइन् । जग्गा दाता बैजन्ती माला गुरुङले त्यो बस्तीको नाम ‘मनिला बस्ती’ नामकरण गरेका छन् । त्यसैगरी ‘मनिला बस्ती’ सडक नामकरण गरिदिएका छन् । आफ्ना छोरी मनिला अल्पआयुमै दिवंगत भएकोले उनकै नाममा घरविहिनलाई जग्गा दिई बस्तीको नाम मनिला राखिएको बैजन्ती माला गुरुङले बताइन । उनले आजबाट परिवार थपिएको छ भन्दै, खुसी व्यक्त गरिन । ‘हिजोसम्म मेरो एउटा परिवार थियो, आजबाट हामी ७ परिवार भएका छौं । मलाई सानैबाट समाजसेवामा रुचि भएकाले यसरी सामान्य भएपनी सहयोग गर्न पाउँदा मनलाई आनन्द मिल्छ,’ उनी बताउँछिन ।
सो बसोबासलाई रमाइलो चोकबाट लगभग तीन किलोमिटर पूर्व रमाइलो–मुलगाउँ जोड्ने सडकले छोएको छ । सो सडकबाट घरदेखी दक्षिण नयाँ सडक खोली सडकमै मनिला बस्ती बसाएको हो । जग्गा नभएको र उनिहरुको परिवार धेरै पीडामा रहेकोले आफ्नो आँखै अगाडी त्यस्तो पीडा देख्न नसकेर परिवारको सल्लाहमा जग्गा दिएको बैजन्ती माला गुरुङले कार्यक्रममै सुनाइन । बैजन्ती माला गुरुङ सो गाउँमा धेरै पुरानो बसोबासी हुन ।
त्यहाँ बसोबास देखी नै समाजको अगुवा भएर समाज सेवामा लागेर काम गरेका धेरै उदाहरणहरु छन् । गुरुङले आफ्नो गाउँमा बस्ती बसाउने अभियान नै गरेर अहिले बाक्लो बस्ती भएको छ । गरिव तथा विपन्न परिवारलाई आर्थिक सहयोग देखी सामाजिक सहयोग गर्दै आएका थिए । घर जग्गा तथा सारा सम्पती यहाँ भएपनि पछिल्लो समयमा बैजन्ती माला गुरुङ परिवार सुनसरीको इटहरीमा बसोबास गर्दै आएका छन् । कहिले काही आएर बस्ने घर, खेतीबारी रेखदेख गर्ने गरेका छन् ।