बैशाख १० गते, कानेपोखरी । मोरङको कानेपोखरी –५, स्थित भौसाबारी चोकका दुवै मृगौला पीडित २९ बर्षिय रमेश कुमार चौधरीलाई थप उपचारको लागि आर्थिक सहयोग भएको छ ।
वडा नं. ६ का युवा नेता तथा समाजेवी लोकेन्द्र मगरले चौधरीलाई नगद ५ हजार आर्थिक सहयोग गरेको हो । मगरले रकम र फलफुल सहित शनिबार घरमै पुगी विरामीलाई हस्तान्तरण गरेको हो ।
१ बर्ष अघि देखीको पीडित रमेशको हप्तामा तीन पटक डाइलोसिस गर्नुपर्ने उनका पत्नी नानी मैयाले बताइन् । रमेशको सुरुमा खुट्टा सुनिएपछि नजिकैको रमाइलो हस्पिटलमा चेकजाँच गरी हस्पिटलले नोवेल अस्पतालमा रिफर गरेका थिए । नोवेल अस्पतालले १ महिनाको औषधि दिएको १७ दिनमा विरामी अझै गम्भिर भएपछि अस्पताल भर्ना गरी डाइलोसिस सुरु गरिएको उनका आमा गुजाई चौधरीले बताइन् ।
पछिल्लो समयमा नियमित चेकजाँच गर्ने डाक्टरले मृगौला फेर्नुपर्ने सुझाव दिएपछि मृगौला पीडित छोरालाई बुबा मंगलु चौधरीले मृगौला प्रदान गर्ने भएको छ । अहिले सम्म ७ लाख संकलन भएको र मृगौला प्रत्यारोपनमा आर्थिक संकलन गर्नुपर्ने उनका पत्नी नानी मैया बताउँछिन् । जग्गा विहिन तथा निम्न आर्थिक अवस्थाका चौधरी परिवारको नावालक एक छोरो रहेको छ ।