अपराध

लागूऔषधमुक्त समाजका लागि कानेपोखरीको साझा प्रतिबद्धताः महाअभियान सुरु

१९ भदौ, मोरङ । लागूऔषध दुव्र्यसन न्यूनीकरण र अवैध ओसारपसार नियन्त्रण गर्दै मोरङलाई नै लागूऔषधमुक्त बनाउने लक्ष्यका साथ ’लागूऔषधविरुद्धको महाअभियान–२०८३’ कानेपोखरीमा पनि सुरु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय पथरीको संयुक्त आयोजना तथा कानेपोखरी गाउँपालिकाको सहयोगमा बिहीबार एक विशेष कार्यक्रमका बीच यो महाअभियानको स्थानीय स्तरमा सुरुवात गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्गनामले लागूऔषधको समस्या प्रहरी र स्थानीय सरकारको मात्र नभई सिंगो समाजको साझा चुनौती भएको बताउनुभयो । उहाँले यसको पूर्ण नियन्त्रणका लागि परिवारदेखि समाजका हरेक तप्का सचेत र सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।
“हाम्रा छोराछोरी कहाँ जान्छन्, कोसँग सङ्गत गर्छन् र के गरिरहेका छन् भन्ने कुरामा अभिभावकहरूले सूक्ष्म निगरानी राख्नुपर्छ,“ अध्यक्ष इङ्गनामले भन्नुभयो, “विशेषगरी आमा, दिदीबहिनी र युवाहरू सचेत भएर लाग्ने हो भने यो समस्यालाई जरैदेखि उखेल्न सकिन्छ ।”

सो अवसरमा मोरङ प्रहरी प्रमुख, प्रहरी उपरीक्षक कवित कटवालले मोरङलाई नै लागूऔषधमुक्त जिल्ला बनाउने संकल्पका साथ जिल्लाका सबै स्थानीय तहमा अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले प्रहरीको सक्रियतासँगै जनस्तरको सहयोग प्राप्त भएमा मात्र यो अभियानले सार्थकता पाउने बताउनुभयो ।
कार्यक्रममा कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारी र मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले विशिष्ट अतिथिका रूपमा बोल्दै लागूऔषध नियन्त्रणका लागि राजनीतिक दल, सामाजिक संघ–संस्था, युवा र नागरिक समाज सबै एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रमको आकर्षणको रूपमा लागूऔषध दुव्र्यसनले व्यक्ति र समाजमा पार्ने घातक प्रभाव तथा यसबाट बच्ने उपायहरू समेटिएको चेतनामूलक ’गीति नाटक’ प्रस्तुत गरिएको थियो । उक्त नाटकले उपस्थित सबैलाई भावुक र सचेत बनाएको थियो ।

कानेपोखरीमा बढ्दो लागूऔषधको समस्यालाई मध्यनजर गर्दै आयोजित यो कार्यक्रमले स्थानीय स्तरमा सकारात्मक सन्देश प्रवाह गरेको र लागूऔषधविरुद्ध साझा मोर्चा निर्माण गर्न सफल हुने आशा गरिएको छ ।

प्रतिक्रिया