काँकडभिट्टा–लौकही सडक ४ लेनमा बिस्तार हुने, ३७७ वटा भौतिक संरचना हटाइने

साउन २४ गते, कानेपोखरी । काँकरभिट्टा–लौकही १२० किलोमिटर सडकको एसियाली विकास बैँकले २ लेनबाट ४ लेनमा स्तरोन्नति गर्ने भएको छ । सडक एशियन हाइवे स्टेन्र्डडको हुने आज मंगलबार कानेपोखरी गाउँपालिकाको हलमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा जानकारी गराइएको थियो ।

आयोजनाको वातावरणिय प्रभाव मुल्याङ्कन प्रतिवेदनका सम्बन्धमा गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा यस सडकको बारेमा बिस्तृत जानकारी गराईएको थियो । गाउँपालिका उपाध्यक्ष भोला अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एस, विभिन्न संस्थाका प्रतिनिधिहरु र सरोकार व्यक्तिहरुले जिज्ञासा राखेका थिए । पालिकाको वडा नं. ५ र ७ वडालाई पूर्वपश्चिम सडकले छोएको छ । वडा नं. ५ का वडाध्यक्ष चरण गुरुङ र वडा नं. ७ का वडाध्यक्ष मोहन प्रसाद अधिकारीले पनि कानेपोखरी चोकमा आकाशेपुल निर्माण गर्नुपर्ने माग राखेका थिए ।

४ लेडन सडक निर्माण गर्दा ३७७ संरचना हटाइने प्रतिवेदनमा उल्लेख छ । २ लेनबाट ४ लेनमा सडक स्तरोन्नति गर्न लागिएको यो सडकखण्डअन्तर्गत साना–ठूला गरी ती संरचना हटाइने सामाजिक तथा पुनर्वास विशेषज्ञ रविन ढकालले जानकारी दिए । एसियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको यो सडकको लागत करिब २८ अर्ब १७ करोड रुपैयाँ रहेको छ भने निर्माणकार्य तीन वर्षभित्रमा सम्पन्न हुनेछ ।

सहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुने यस सडकको पहिलो चरणको काम काँकरभिट्टा देखि इटहरीसम्म सुरु हुने जनाइएको छ । ३ सय मिटरभन्दा लामो पुल रहेको ६ स्थानमा सिग्नेचर पुल निर्माण हुनेछन् । तीन प्रकारको डिजाइन गरिएको सडक ग्रामीण र जंगल भएको क्षेत्रमा २४ मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र सहरी क्षेत्र तथा मुख्यबजार क्षेत्रमा ५० मिटर चौडाइको हुनेछ ।

आयोजनाले काँकरभिट्टा, इट्टभट्टा,चारआली, बिर्तामोड, दमक, झुम्का, विराटचोक, इटहरी लगायतका ९ वटा घनाबस्ती भएको स्थानान ओभरहेड व्रिज तथा अन्डर पास निर्माण गर्ने जनाएको छ । यस आयोजनाबाट १२ वटा नगरपालिका, चारवटा गाउँपालिका र एउटा उपमहानगरपालिकाका ८२ वडा प्रभावित हुने जनाइएको छ ।

 

 

 

सम्बन्धित खवर