कानेपोखरी गाउँपालिका र सुनवर्षी नगर जोड्ने पक्की पुल उद्घाटन

बैशाख २१ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका र सुनवर्षी नगरपालिका जोड्ने पक्की पुल औपचारीकरुपमा उद्घाटन भएको छ ।

कानेपोखरी –३ हरकपुर हुँदै सुनवर्षी –१ अमरदह बजार जाने डाँस खोलामा निर्माण सम्मपन्न पक्की पुल बुधबार उद्घाटन गरेको हो । कोशी प्रदेशका सडक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागाईंले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा प्रदेश सांसदद्वय लिलाबल्ब अधिकारी र गीता तिम्सिना पनि रहेका थिए । २०७४ सालको निर्वाचन पछि जनताको माग अनुसार प्रदेश सांसद लिलाबल्ब अधिकारीको पहलमा त्यस स्थानमा पक्की पुलको सुरु गरेका थिए ।

२०७६ पुस १० गते सम्झौता गरेर काम सुरु गरेको थियो । २०७९ माघ २९ सम्ममा निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने भए पनि कोभिड १९ को कारणले ढिलाइ भएको थियो । सो पुल ६ करोड ४५ लाख ४७ हजार ३ सय ४७ रुपैयाँ लागतमा पुल निर्माणको ठेक्का कार्की बन्धु कन्स्ट्रक्सन प्रा.लि विराटनगरले लिएको थियो ।

तल्लो भेगको डाँस खोलामा पक्की पुल निर्माण भएपछि कानेपोखरीबाट सुनवर्षीको अमरदह हुँदै पथरीबाजर निस्कन सहज हुने भएको छ । यसअघि पुल नहुँदा वर्षायाममा पथरी बजार जानुपर्दा घुमेरी कानेपोखरी हुँदै जानुपर्ने बाध्यता थियो । आवतजावत मात्रै नभएर गाउँका उत्पादनलाई बजारसम्म पु¥याउन पुल बनेपछि सहज भएको छ । कानेपोखरी गाउँपालिकातिरबाट सुनवर्षीको अमरदह, पथरीशनिश्चरेको पथरी, शनिश्चरे र उत्तरबाट हरकपुर, दलेली, रंगेलीलगायतका बजार कृषिजन्य उत्पादित बस्तुहरू बिक्री वितरण गर्न लैजान पनि सहज भएको स्थानीय बताउँछन् ।

कोशी प्रदेशका सडक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागाईंले तीन तहको सरकारबीच समन्वय गरेर विकास निर्माणको काम हुने बताए । ‘साना योजनाहरूमा स्थानीय सरकारले काम गरेर अगाडि बढ्नेछ । स्थानीयले नसकेको मझौला खालको योजनाहरू प्रदेश सरकारले गर्नेछ । त्यसभन्दा ठुलो योजना संघीय सरकारले गर्नेछ,’ मन्त्री चापागाईंले भने, ‘यसरी विकासको काम तीन तहको सरकारले समन्वय गरेर अगाडि बढ्नेछ ।’

प्रदेश सरकारको मातहतमा रहेको सिँचाइ, खानेपानीको क्षेत्रमा, तटबन्ध, कार्यालय भवन निर्माणका कामहरू भइरहेको बताउँदै उनले सबै खालका कामहरू हेर्दा प्रदेश सरकारले सिंहदरबारको अधिकार गाँउगाँउमा ल्याएको दाबी गरे । विगतका दिन सामान्य विकासका योजना र बजेटको माग राख्न सिंहदरबार धाउनुपर्ने आएको कामलाई समयमा सम्पन्न गर्न नसक्ने अवस्था रहेको भए पनि पछिल्लो समय प्रदेश सरकार आएपछि धेरै कुरामा सहजीकरण भएको मन्त्री चापागाईले दाबी गरे ।

प्रदेश सांसदद्वय लिलाबल्ब अधिकारी र गिता तिम्सिनाले अत्यन्तै आवश्यक ठाउँमा पुल बनेको बताए । ‘पुल अत्यन्तै आवश्यक ठाउँमा बनेको छ’ अधिकारीले भने, ‘पुलबाट सहजीकरण मात्र नभएर जीवनस्तर उकास्न लाग्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’ प्रदेश सरकार बनेपछि स्थानीयस्तरमा विकासको कामले गति लिने उनले बताए ।
कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारीले भौतिक संरचना बन्दै गर्दा प्रदेश सरकारको काम देखिएको बताए । उनले यसका बीच पनि थुप्रै खाल्का आवश्यकता रहेको र जनसरोकारका थुप्रै आवश्यकता रहेकाले तीनै तहको सरकारले ध्यान दिन जरुरी रहेको बताए ।

कानेपोखरी गाउँपालिका–३ का गोपालबहादुर कार्कीले तटबन्ध नगरेर बर्खामा बस्ती डुबानमा पर्ने वा विस्थापित गर्ने समस्या रहेको बताए । बस्ती व्यवस्थापनका विषयमा गाउँपालिका देखि संघसम्म कुरा राख्दा बजेटको समस्या देखाउँदै उनले व्यवस्थित रुपमा डाँस खोलामा तटबन्ध आवश्यक रहेको बताए । सुनवर्सी नगरपालिका १ का वडाध्यक्ष वीरबहादुर राईले कानेपोखरी र सुनवर्षी जोड्ने पुल निर्माणले वारी र पारीको सम्बन्ध जोडिने बताए ।

सम्बन्धित खवर