भाद्र १२, राजविराज । २०७९ वैशाख ३० मा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सुरु भएयता सप्तरीका तीन पालिका प्रमुख निलम्बित भएका छन । दुई नगर प्रमुख र एक गाउँपालिका अध्यक्ष निलम्बित भएको हो ।
गत साता घूससम्बन्धी मुद्दामा अख्तियारले नियन्त्रणमा लिएसँगै विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादव निलम्बित भएका हुन । यसअघि राजविराज नगरपालिका प्रमुख भीमराज यादव र शम्भुनाथ नगरपालिका प्रमुख जितेन्द्रप्रसाद गुप्ताको निलम्बन कायमै छ ।
घूससम्बन्धी प्रकरणमा अख्तियारले उनलाई गत भदौ ६ गते नियन्त्रणमा लिएको थियो । ७ गते अख्तियारले विष्णुपुर गाउँपालिकालाई पत्राचार गर्दै अध्यक्ष निलम्बनमा परेको जानकारी गराएको हो । विष्णुपुर–६ मा सोलार लगाएको योजनाको भुक्तानीका क्रममा घूस लेनदेन भएको अख्तियारको दाबी छ । साउन ३१ गते सोलारसम्बन्धी एक योजनामा २ लाख नगद र ३ लाखको चेक घूसबापत लिँदै गर्दा विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर वीरेन्द्र यादवलाई अख्तियार टोलीले राजविराजस्थित गजेन्द्र चोकबाट नियन्त्रणमा लिएको थियो । उक्त प्रकरणमा अध्यक्ष यादवको समेत संलग्नता रहेको अख्तियारको दाबी छ ।
यसअघि शम्भुनाथ नगरपालिकाका प्रमुख जितेन्द्रप्रसाद गुप्ताविरुद्ध अख्तियारले घूस लिएको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेसँगै गत फागुन १७ गतेदेखि निलम्बित छन । नगर प्रमुख गुप्ता र नगरपालिकाका इन्जिनियर रामचन्द्र साहबीचको मिलेमतोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग एक लाख ४० हजार रुपैयाँ घूस लिएको आरोपमा दुवै जनामाथि विशेष अदालतमा मुद्दा दायर भएको थियो । अख्तियार टोलीले गत माघ ३ गते इन्जिनियर साहलाई एक लाख ४० हजार रुपैयाँ घूस लिएको आरोपमा नियन्त्रणमा लिएको थियो । प्रमुख गुप्ताको पनि संलग्नता पाएपछि उनी समेतलाई विपक्षी बनाई विशेष अदालतमा आरोपपत्र दायर भएको हो ।
भीमराज यादवमाथि अख्तियारले २०७९ असार २९ गते विशेष अदालतमा आरोपपत्र दायर गरेपछि उनी निलम्बित छन् । राजविराजस्थित राज रंगशाला स्तरोन्नतिमा भ्रष्टाचार गरेको ६ वर्ष पुरानो मुद्दामा उनी जोडिएका हुन । अख्तियारले न्यू गहिल कन्ट्रक्सनका तत्कालीन सञ्चालक यादवविरुद्ध २ लाख ६३ हजार ४ सय ६८ रुपैयाँ बिगो कायम गरी आरोपपत्र दायर गरेको छ ।इकान्तिपुरबाट