चिसाङ खोलाबाट एउटा ट्याक्टर पक्राउ, जनप्रतिनिधि बीच विवाद हुँदा करोडौं राजश्व गुम्दै

२३ मंसिर, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले चिसाङ खोलाबाट गिटी बालुवा सहित एउटा ट्याक्टरलाई पक्राउ गरेको छ ।

गाउँपालिकाका नगरप्रहरी प्रमुख युवराज भूजेलको नेतृत्वको टोलीले शनिबार विहान ५ बजे चिसाङ नाकाबाट अवैधरुपमा लोड गर्दागर्दै पक्राउ गरेको हो । नगरप्रहरीले को २ त १९९३ नम्बरको ट्याक्टर पक्राउ गरेको थियो । नगरप्रहरीले ट्याक्टर पक्राउ गर्न जादा चालक र बालुवा लोड गर्ने व्यक्ति भागेको नगर प्रहरी प्रमुख भुजेल बताउँछ । नगर प्रहरीको टोली वडा नं. ५ चिसाङ छेउमा जंगली हात्ति धपाउन जादा पक्राउ गरेको हो । पक्राउ परेको ट्याक्टरले ५० हजार जरिवाना तिरेपछि मात्र ट्याक्टर छुटने व्यवस्था भएको छ ।

यस अघि साउन २१ गते नगरप्रहरीले को २ त ३८५, को २ त ११६९, प्र. नं १–०२–००३ त र को २ त ६९९२ नम्बरको ट्याक्टरहरु लोड गर्दा गर्दै पक्राउ गरेका थिए । पक्राउ परेको ४ वटा ट्याक्टरले १५ हजारको दरले ६० हजार रुपैया जरिवाना गाउँपालिकामा बुझाए पछि छाडिएको थियो ।

चिसाङ खोलाको ठेक्काको विषय अहिले अदालतमारा छ । यसको मौका छोपी बेलुकी र विहानीको समयमा ट्याक्टरवालाले खोलाको गिटी, बालुवा दैनिक चोरी निकासी भैरहेको नगरप्रहरी बताउँछन् ।

जनप्रतिनिधिको स्वार्थ बाझिदा करोडौं राजश्व गुम्दै
कानेपोखरी र बेलबारीको सिमाना छुट्याउने चिसाङ खोलामा विगत देखिनै दुई पालिकाले संयुक्त ठेक्का लगाउने गरेका छन् । ठेक्काको व्यवस्थापन भने बेलबारीले गर्दै आएको छ ।

चालु वर्षका लागि खोला ठेक्का लगाउन बोलपत्र आह्वान गरेर ठेकेदार छनोट भएपछि पहिलो अंक कबुल गर्नेलाई ठेक्का दिने कि दोस्रोलाई दिने भन्नेमा बेलबारी नगरपालिकाकी उपमेयर नितु थापा(कोइराला) र वडा नं. ११ का वडाध्यक्ष विक्रम राई बीच विवाद देखिएको थियो । उपमेयर र वडाध्यक्ष विवाद हुँदा कानेपोखरी गाउँपालिकालाई समेत राजश्व संकलनमा असर परेको छ ।

विवादपछि नगरपालिकाले तोकिएको रकम एकदिन ढिला जम्मा गरेको भने सबैभन्दा बढी रकम कबुल गर्ने मकालु इन्जिनियरिङ कन्स्ट्रक्सनलाई ठेक्का नदिने निर्णय ग¥यो ।

नगरपालिकाको निर्णय विरुद्ध मकालु अदालतमा गयो । त्यसपछि अदालतले ठेक्का प्रक्रिया स्थगितमा राख्न अन्तरिम आदेश दियो । यसपछि अहिले दुई महिनादेखि खोलाबाट आउने राजश्व प्रभावित भएको छ । अदालतले अन्तरिम आदेशबाट अर्को निर्णय नगर्दा बेलबारी र कानेपोखरीले दैनिक लाखौँ राजश्व गुमाइरहेका छन् ।

सम्बन्धित खवर