उत्तरी मोरङमा बालविवाह गर्नेको संङ्ख्या बढ्दो

सुरेश अधिकारी

मंसिर १९ गते, लेटाङ । उत्तरी मोरङमा बाल बिबाहका घटना दिनानुदिन बढेको भन्दै सरोकारवाला निकायहरुले चिन्ता ब्यक्त गरेका छन । लेटाङ नगरपालिका वडा नम्बर ७, वारङ्गीमा आयोजित अन्तरक्रीया कार्यक्रममा गत ६ महिनाको अन्तरालमा आधा दर्जन बढी बालविवाहका घटना भएको बताउदै चिन्ता ब्यक्त गरिएको हो ।

विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, स्थानिय बुद्धिजीवी, युवा, महिला, बाल क्लबका प्रतिनिधिलगायत उपस्थिति रहेको अन्तरर्क्रीया कार्यक्रममा सहभागी सरोकारवाला तथा अभिभाबकहरुले बाल विवाहबाट सामाजिक बिचलन उत्पन्न भएकोले रोक्नु पर्ने बिचार ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै लेटाङ नगरपालिका प्रमुख शंकर राईले बालविवाहबाट हुने असरको बिषयमा जनस्तरमा पर्याप्त चेतना जागृत नहुदाँ बालविवाह बढेको बताए । जनजाति समुदायको बसोबास भएका क्षेत्रमा विवाह गर्ने उमेर नभईकन केटाकेटी मन परापर भएर भागेर विवाह गर्ने र अभिभावकले पनि ल्याई त हालेछ भनेर घर भित्राउने संकारको कारण बालविवाहमा कमि नआएको बताउदै प्रमुख राईले बिद्यार्थी र अभिभावक दुबैलाई यसबारे जनचेतना जागृत गराउनुपर्ने बताए ।

प्रमुख अतिथि राईले कोभिड १९ को कारण बिद्यालय बन्द हुनुले बालविवाहका घटनामा बृद्धि भएको र अब बिद्यालयहरुलाई सुरक्षाका मापदण्ड अपनाउदै बिद्यालय शिक्षा संचालन गरिरे तथा टोल बस्तीमा समेत बालविवाहका असरहरुको बिषयमा अभिभावक शिक्षामा जोड दिन सबै पक्ष लाग्नुपर्ने बताए । बिपन्न बर्गका किशोर किशोरीले पढ्न चाहे नगरपालिकाले छात्रबृत्रिको व्यवस्था गरिने बताएका छन् ।

कार्यक्रममा बिशेष अतिथिको रुपमा मन्तव्य राख्नु हुदै नगरपालिका उपप्रमुख कृष्ण कुमारी निरौलाले लैङ्गिक हिंसाको प्रमुख कारकको रुपमा रहेको बालविवाहलाई अन्त्य गर्न सरकारी तथा गैरसरकारी संस्थाहरुले योजना बनाएर अघि बढ्नुपर्ने बताईन् । बालविवाहको कारण सम्बन्ध बिच्छेद र बहुविवाहका घटनाहरु बढेको र बालविवाह गरेका जोडिमा केही बर्षमा नै मनमुटाब सुरु हुने तथा सम्बन्ध बिच्छेद वा बहुविवाह तर्फ आकर्षित हुदाँ उनीहरुको कोखबाट जन्मेका बालबालिकाहरुको बाल अधिकार हनन हुने गरेको बताईन् ।

१६ दिने लैङ्गिक हिंसा बिरुद्धको अभियान चलिरहेको यस समयमा बालविवाहको असरबारे अन्तरक्रिया गरिनु अत्यन्त सान्दर्भीक भएको जनाउदै उपप्रमुख निरौलाले कार्यक्रमलाई टोलबस्ती सम्म पुर्याएर बालविवाहसँग सम्बन्धीत गलत संस्कारलाई निरुत्साहित बनाउनुपर्ने कुरामा जोड दिईन ।

कार्यक्रममा बोल्दै स्वास्थ्य शाखा प्रमुख महेन्द्र चौधरीले युवा अबस्थामा किशोरकिशोरीको शरिरमा आउने परिबर्तनलाई आत्मसाथ गर्दै यौन सम्बन्धी सम्बेगलाई नियन्त्रण गर्न सके बालबिबाह नहुने बताए ।

नेपाल शिक्षक संघ लेटाङका अध्यक्ष पूर्ण बहादुर लिम्बूले उत्तरी मोरङमा बाल विवाह कुरितीको रुपमा रहेकोले बालविवाह रोक्न सामाजिक अभियान संचालन गर्नुपर्ने बताए । कार्यक्रममा आफ्नो बिचार राख्दै नेकपाका प्रतिनिधि खगेन्द्र माखिमले आर्थिक तथा चेतनाको अबस्था कमजोर भएको कारण बालविवााहमा बृद्धि भएको बताउदै यसलाई रोक्न ३ बटै तहका सरकारले योजना बनाएर कार्य थाल्नुपर्ने बताए ।

किण्डर मिसन बर्कको आर्थिक सहयोग तथा सस्थागत बिकास संजाल, ललितपुरसंगको साझेदारीतामा आयोजित कार्यक्रमको अन्त्यमा बालविवाह रोक्ने प्रतिबद्धतासहित हस्ताक्षर अभियानसमेत चलाईएको थियो । पहाडी ग्रामिण बिकास संस्था उत्तरी मोरङ (हर्डन) आयोजनामा लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतिथ्यतामा वडा कार्यलयको सभा हलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खवर