कानेपोखरीमा उद्यमी महिलाहरुलाई ८ वटा बीउ बोका प्रदान

जेठ २२, कानेपोखरी । कानेपोखरी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा कानेपोखरीका उद्यमी महिला सदस्यलाई ८ वटा उन्नत नस्लका बीउ बोका प्रदान गरिएको छ ।

अभियान नेपालको आयोजनामा सोमबार गाउँपालिकामा भएको कार्यक्रममा बीउ बोका वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजमती इङ्नामले ८ वटा समूहलाई बीउ बोका हस्तान्तरण गरेका थिए ।

वडा नं. २ बाट उन्नती उद्यमी महिला समूह, लालीगुरास उद्यमी महिला समूह, दलेली उद्यमी महिला समूह र जनता उद्यमी महिला समूह, वडा नं. ३ बाट सृजना उद्यमी महिला समूह, वडा नं. ५ बाट दुर्गा मन्दिर उद्यमी महिला समूह र घलेटोल महिला उद्यमी समूह, वडा नं. ७ बाट बरगाछी उद्यमी महिला समूहले बोका पाएका थिए ।

धनपाल गाउँपालिका ३ मा रहेको युनिक लाइभष्टक इन्टरप्राइजेजबाट ३ लाख २१ हजार २ सय ७० रुपैयामा बोका खरिद गरिएको थियो । साझेदारीमा कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तरगत सीरोही, अजमेरी, बिटल र जमुनापारी जातका बोका वितरण गरिएको थियो ।

कार्यक्रममा कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, हेफर प्रोजेक्ट नेपालबाट बिशाल बस्नेत, र कृषि शाखा प्रमुख सागर पौडेलले मन्तव्य राखेका थिए । अभियान नेपाल कार्यक्रम संयोजक हेम श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए ।

अभियान नेपालले यस अघि सीरोही, अजमेरी, कोटा, तोतापुरी, गुज्री, जमुनापारी–बिटल खपारी क्रस लगाएतका जातका १३ वटा प्रजनन् विऊ बोका सात वटै वडामा वितरण गरेका थिए ।

सम्बन्धित खवर