पथरी शनिश्चरे नगर खेलकुद महोत्सव आजदेखि हुर्दै

६ माघ, पथरी । पथरी शनिश्चरे नगरपालिकामा ‘पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८० आजदेखि हुनेभएको छ । नगरपालिका अन्तर्गत नगर खेलकुद विकास समितिको आयोजनामा यही माघ ६ देखि माघ १५ गतेसम्म खेलकुद महोत्सव हुनेभएको हो ।

खेलकुद महोत्सव अन्तर्गत महिला फुटबल, पुरुष फुटबल, भलिवल, क्रिकेट, बुद्धिचाल, तेक्वान्दो, कराँते, मिनि म्याराथन गरी ७ वटा विधामा प्रतिस्पर्धा हुने समितिका सदस्य सचिव नविन खुलालले जानकारी गराएका छन् । नगरको वार्षिक स्वीकृत बजेटबाट यो महोत्सवका लागि १४ लाख ३१ हजारको बजेट तथा कार्यक्रम प्रस्ताव तयार गरेको छ ।

नगरपालिकामा दर्ता भएका क्लवहरूबाट फुटबलमा १० वटा टिमले सहभागिता जनाउने भएका छन । क्रिकेटमा वडा स्तरबाट ९ वटा टिम रहेका छन । भलिवलमा ७ वटा टिम सहभागी हुने भएका छन । कराँतेमा पुरुष ३७ र महिला २० जना, तेक्वान्दोमा ५० जना, बुद्धिचालमा हालसम्म ८० जनाको नाम दर्ता भएको र १ सयजना सहभागी पुग्नसक्ने अनुमान आयोजकले गरेको छ । मिनि म्याराथनका लागि ३० जनाको नाम दर्ता भएको यसमा ५० जनासम्म पुग्ने अनुमान छ । महिला फुटबल टिम यो पटक २ वटा मात्रै रहेको छ । महिला खेलाडीहरूलाई प्रोत्साहनका लागि मात्रै भएपनि २ वटा टिम सहभागी गराएको आयोजकले जनाएको छ ।

खेलकुदका कार्यक्रमहरु बुद्धिचाल सिनभिलेज पार्टी प्यालेसमा, क्रिकेट जिरीखिम्ती मैदानमा र अन्य खेलहरू प्रस्तावि पथरी रंगशाला जाँतेमोडमा हुने आयोजकले जानकारी दिएको छ ।

फुटबल प्रतियोगितामा प्रथमलाई १ लाख, दोस्रोलाई ५० हजार, महिला फुटबल प्रथम १० हजार र दोस्रो ५ हजार नगद ट्रफी, मेडल रहेको छ । फुटबलमा प्रत्येक खेलमा म्यान अफ दी म्याच र फाइनलमा विधागत पुरस्कारहरू रहेका छन जसमा गोल्डेन बल, गोल्डेन बुट र गोल्डेन ग्लोव्सको व्यवस्थापन गरिएको छ ।

भलिवल खेलमा प्रथम हुनेले २५ हजार र दोस्रोले १५ हजार, क्रिकेटमा पहिलो २० र दोस्रो १५ हजार सहित विधागत पुरस्कारहरू रहेका छन । कराँते र तेक्वान्दोमा प्रथम पुरस्कार ५ हजारका दरले रहने छ । कराँते र तेक्वान्दो उमेर समुह अनुसार हुने छ । मिनि म्याराथनमा प्रथम ६ हजार, दोस्रो ४ हजार र तेस्रो हुनेले २ हजारका दरले नगद पुरस्कार पाउने छन । म्याराथनमा महिला र पुरुष दुवै सहभागीको अलग अलग मुल्याङ्कन गर्ने तयारी छ । मिनि म्याराथन माघ १२ गते शुक्रबार विहान गर्ने तयारी आयोजकको छ ।

यस्तैगरी सञ्चारकर्मी माझ फुटबल, क्रिकेट र भलिबल प्रतियोगिताको खेल तालिका पनि सार्वजानिक गरिएको छ ।
यो पहिलो वर्ष भएकाले व्यवस्थापन गर्न कठिन भइरहेको खेलकुद विकास समिति संयोजक दिपक राईले बताए । सकेसम्म बढि खेलहरू समावेस गर्ने कोसिस गरिएको छ । महोत्सवका लागि तयारी पनि अन्तिम चरणमा पुगेको छ । महोत्सवमा सबै खेलप्रेमीहरूलाई सहभागी हुन पनि संयोजक राईले अनुरोध गरे । महोत्सवको उद्घाटन माघ ६ गते शनिवार दिउँसो १२ बजे प्रस्तावित पथरी रंगशालामा हुने भएको छ ।

सम्बन्धित खवर