वडा नं. ८ मा एक महिने साकेला सिलि नाच प्रशिक्षण समापन

३ चैत्र, पथरी । मोरङको पथरी शनिश्चरे –८ नं. वडा स्थित दोहोलु शुक्रबारेमा माङ्हिममा एक महिने निशुल्क साकेला सिलि नाच प्रशिक्षण कार्यक्रम समापन भएको छ ।

वडा नं. ८ वडा कार्यालयको आयोजनामा भएको किरात राई समुदायको सांस्कृतिक नाच साकेला सिलि नाच प्रशिक्षण कार्यक्रम आज समापन भएको हो ।

५० हजारको लागतमा एक महिनासम्म वडाका करिव ४५ जना राई जातीका युवायुवतीलाई निशुल्क रुपमा तालिम दिएको वडा अध्यक्ष नवीन कार्कीले बताए । कार्यक्रममा वडाध्यक्ष कार्कीले राई समुदायको सास्कृतिक नृत्य नयाँ पुस्तालाई सिकाउने, यसको संरक्षण र बिकासको लागि प्रशिक्षण गरिएको अध्यक्ष कार्कीले बताए । उनले ढोल, झ्याम्टा र चौरीगाईको पुच्छर खरिद गर्ने तयारी रहेको र आउँदो साकेला नाचमा वडाबाट पनि प्रतिनिधि पठाउने तयारीका साथ लागेको बताए ।

कार्यक्रममा सञ्चारकर्मी अर्जुन जम्नेली राईले साकेला किराती सभ्यतासँग जोडिएको बताए । साकेला नाच्नुको साथै यसको उत्पति र इतिहासको बारे समेत नयाँ पुस्ताले ज्ञान राख्नुपर्ने राईले बताए ।

कार्यक्रममा साकेला प्रशिक्षक पर्वत राई, सहभागीहरुले समेत अनुभव राखिएको कार्यक्रममा वडा सदस्यहरु बाबुराम चौधरी, झमकबहादुर लिम्बू, शान्ता योहांङ, लगायतको उपस्थिति रहेको थियो ।
‘वडा नम्बर आठको आकृती, जोगाऔं हाम्रो सस्कृती’ भन्ने नारा राखेको पथरीशनिश्चरे नपा. ८ न. वडा कार्यालयले यस अघि लिम्बू समुदायको च्याबु्रङ नाच प्रशिक्षण गर्नुका साथै थारु जातिको पोषाक वितरण गरेको थियो ।

आगामी बर्षहरुमा नेपाली मौलिक नौमती बाजा संरक्षण गर्न बाजा प्रशिक्षण र मगर जातिको हुर्रा नाच गराउने योजना रहेको वडा अध्यक्ष कार्कीले बताएका छन । वडामा लिम्बू भाषा पठनपाठन तथा किरात सिरिजंगा लिपी समेत पठनपाठन भइरहेको छ ।

सम्बन्धित खवर