मेलमिलापकर्ताहरुका लागि पुनर्ताजगि तालिम सम्पन्न

७ जेठ, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले ३ दिने पुनर्ताजगि तालिम सम्पन्न गरेको छ । पालिकाको प्रत्येक वडाका मेलमिलापकर्ताहरुलाई तीन दिने पुनर्ताजगि तालिम सम्पन्न गरेको हो ।

धनकुटाको साँगुरीगढी –६, नाम्जे थुम्की होमस्टेमा जेठ ३ गतेदेखि सुरुभएर ५ गते समापन भएको थियो । समापन कार्यक्रमको अध्यक्षता गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक भोला प्रसाद अधिकारीले गरेका थिए ।

समापन कार्यक्रममा दानबहादुर बस्नेत, त्रिभूनाथ(सन्तोष) फुयल, टंकेश्वरी याक्खा, खेमकुमारी दाहाल निरौला, नगेन्द्र बस्नेत, चन्द्र खड्का, कमल कार्की, भेषराज कार्की लगाएत सहभागिहरुले आफ्नो कुरा राखेका थिए । उनिहरुले बोल्ने क्रममा तालिम लिएर गएपछि मेलमिलापकर्ताहरुले आ–आफ्नो वडाको विवादहरु निरुपण गर्न अग्रसर हुनु पर्ने बताए । वडामा मेलमिलाप केन्द्रको लागि गाउँपालिकाले सहजिकरण गरी अनुगमण गर्नु पर्ने पनि बताए ।

गत बर्ष गाउँपालिकाले दिएको तालिम पछि वडा नं. ४ ले मात्र धेरै विवादहरु निरुपण गरेको प्रतिवेदन प्रस्तुत गरेको थियो । वडा नं. ४ को मेलमिलाप केन्द्रका संयोजक नगेन्द्र बस्नेतले १ बर्ष भित्रमा वडामा २६ वटा विवादहरु निरुपण गराएको प्रतिवेदन प्रस्तुत गरेका थिए । विवाद निरुपण गर्दा वडा कार्यालयले खाजाको व्यवस्था गरिदिएको संयोजक बस्नेतले बताए ।

वडा नं. ३ र १ ले विवाद निरुपण गरेको भनिएता पनि विवाद निरुपन गरेको प्रतिवेदन भने कार्यक्रममा प्रस्तुत गरेका थिएन । वडा नं. ७, ५, ६ र २ ले वडामा विवाद निरुपण गरेको नदेखिएको उपस्थित वडाका मेलमिलापकर्ताहरुले बताएका थिए । सहभागिहरुले विवाद निरुपण गर्ने मेलमिलापकर्ताहरुलाई तलब वा भक्ताको व्यवस्था हुनु पर्ने माग राखेका थिए ।

उनिहरुले वडामा विवाद मेलमिलाप गराउने उचित वातावरण नभएको कारण अहिले सम्म विवादहरु मेलमिलाप गराउन नसकिएको बताएका थिए । धेरै जसो मेलमिलाप केन्द्र राख्ने कोठाको समस्या भएको बताइएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक भोला प्रसाद अधिकारीले मेलमिलाप केन्द्रको लागि प्रत्येक वडामा १ थान दराज, १ थान टेबल र ५÷५ वटा कुर्सीहरु यस अघि नै प्रदान गरेको बताए । सवै वडा मेलमिलापकर्ताहरुले वडामा आएका विवादहरु वडामै न्याय निरुपण गर्न वातावरण सहज होस भनेर सामान प्रदान गरेको उपाध्यक्ष अधिकारीले बताए । उनले पुनर्ताजगि तालिम लिएपछि आ–आफ्नो वडामा विवाद निरुपणमा लाग्न पनि सुझाव दिएका थिए ।

तालिममा पालिकाको ७ वटै वडाबाट प्रतिनिधि र कर्मचारी गरी जम्मा ४५ जनाको सहभागी रहेको न्यायिक समितिका सदस्य दुर्गा नेपालीले बताइन । तालिमलाई प्रमुख प्रशिक्षक मेघराज न्यौपाने र प्रशिक्षक हरि बहादुर बरालले सहजिकरण गरेका थिए । तालिममा वडा सदस्यहरु जीतबहादुर लिम्बु, सरस्वती काफ्ले, विमला बुढाथोकी, दिपेश थापा, रामजी भण्डारी लगाएत सहभागीता रहेका थिए ।

तालिममा पहिलो पक्ष र दोस्रो पक्षले गर्नुपर्ने काम कर्तव्यहरु प्रस्तुत गरिएको थियो । जस्तै पहिलो पक्षमा अडान, तत्काल मागेको कुरा, ठोस कुरा, जिद्धि, हित, किन भनेर प्रश्न गर्दा आउने उत्तर, कसरी पुरा गर्ने, साझा विकल्प, सहमती र योजनावद्ध सहमती जस्ता विषय बस्तुहरु प्रस्तुत गरिएको थियो ।

तालिममा प्रत्येक दिन सभाअध्यक्ष, प्रतिवेदन, मुल्याङ्कन र मनोरञ्जनको सहभागिहरुले जिम्मेवारी लिएका थिए । त्यसको जिम्मेवारी डिल्ली ओझा, जीतबहादर लिम्बु, इन्दु बाँस्कोटा, टंकेश्वरी याक्खा, चन्द्र खड्का, इन्दिरा राजवंशी, अञ्जुला श्रेष्ठ, विजय गोपाल गड्तौला, सविता राई लगाएतले लिएका थिए ।

समापन कार्यक्रममा वडाध्यक्ष मोहन प्रसाद अधिकारीले पनि बोलेका थिए । कार्यक्रम संचालन न्यायिक समिति सदस्य दुर्गा नेपालीले गरेका थिए ।

 

सम्बन्धित खवर