पथरीशनिश्चरे ८ मा ‘शिक्षासँग सीप’ कार्यक्रम सञ्चालन हुने

१६ साउन, पथरी । पथरी शनिश्चरे– ८ नम्बर वडाले आफ्नो वडा भित्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई ‘शिक्षासँग सीप’ कार्यक्रम सुरु गर्ने भएको छ ।

वडाका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई चालू आर्थिक वर्षमा वडाको बजेटबाट ‘शिक्षासँग सीप’ कार्यक्रम सुरु गर्ने भएको हो । शिक्षा सँग सिप कार्यक्रमको लागि विद्यार्थी छनौट सम्बन्धी आज वडा कार्यालयले सूचना प्रकाशित गरेको थियो । वडामा रहेको बुद्ध मावि, दुर्गा आधारभूत र मिलन आधारभूत विद्यालयले साउन २५ गते सम्म विद्यार्थीको नाम वडा कार्यालयमा पठाइसक्नुपर्ने सूचना जारी गरेको छ ।

विद्यार्थीहरूलाई किताबी ज्ञान मात्रै दिने भन्दा केही व्यवहारिक तथा जीवनपयोगी सीपमूलक ज्ञान दिनको लागि वडाले कार्यक्रम गर्नलागेको वडा अध्यक्ष नवीन कार्कीले बताए ।

पहिलो चरणमा हाउस वाइरिङ, प्लम्बीङ, बासजन्य सामाग्री निर्माण, फेसन डिजाइनर, पशुपालन तथा प्राथमिक पशु उपचार, कराते, संगीत, नृत्य आदि तालिमहरू सञ्चालन गर्न लागेको अध्यक्ष कार्कीले बताए । विभिन्न तालिम मध्ये विद्यार्थीको इच्छाको आधारमा छनौट गर्न वडाले विद्यालयहरुलाई पत्राचार गरेको छ ।

‘वडा नम्बर आठको प्रण, सामुदायिक विद्यालयको रुपान्तरण’ कार्यक्रम सञ्चालन गरिरहेको वडाले विभिन्न शैक्षिक गतिविधि सञ्चालन गरिरहेको छ । यस अघि नगरमा नै प्रथम पटक कक्षा–१२ सम्मको शिक्षालाई निःशुल्क गराएको थियो । पथरी बहुमुखी क्याम्पस अध्ययनरत विद्यार्थीहरुलाई वार्षिक ५ हजारको दरले छात्रवृत्ति समेत प्रदान गर्दै आइरहेको छ ।

कार्यक्रमहरू बुद्ध माविमा हाउस वायरिङ, प्लम्बिङ, आधारभूत निर्माण सामग्री उत्पादन, फेसन डिजाइनिङ, पशुपालन तथा प्राथमिक पशु उपचार र कराते, दुर्गा आधारभूत स्कुलमा कराते, नृत्य र संगीत र मिलन आधारभूतमा नृत्य कक्षा सञ्चालन गरिने भएको छ ।

सम्बन्धित खवर