१९ भदौ, मोरङ । कानेपोखरी गाउँपालिकाले बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
विहिबार कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नामको अध्यक्षतामा गाउँ कार्यपालिकाको बैठक बसी सहयोग गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट ५ लाख ८० हजार २ सय ६३ सय रुपैया, जनप्रतिनिधिहरूबाट ७ दिनको सेवा सुविधा बापत १ लाख ११ हजार ६९ रुपैया, गाउँपालिकाका कर्मचारी अधिकृत स्तरका कर्मचारीको ७ दिन, सहायक स्तरको ५ दिन र श्रेणीविहीन कर्मचारीको २ दिनको तलब बापत ६ लाख ५६ हजार ५ सय ३५ रुपैया र
सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी माध्यमिक तहका शिक्षकको ७ दिन, आधारभूत तहका शिक्षकको ५ दिन र अन्य कर्मचारीको २ दिनको तलब बापत १६ लाख ५२ हजार १ सय ३३ रुपैया गरी जम्मा ३० लाख रुपैया रकम सहयोग गर्ने निर्णय भएको थियो ।
गत भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै गाउँपालिकाले उक्त रकम सहयोग गर्ने घोषणा गरेको छ ।




प्रतिक्रिया