नगर अस्पताललाई १५ लाखको सामग्री सहयोग हस्तान्तरण

पथरी । मोरङको पथरीशनिश्चरेमा रहेको नगर अस्पताललाई हेल्पिङ हेण्ड नामक संस्थाले १५ लाख बढी रुपैयाँका अस्पतालजन्य अत्याधुनिक सामग्री प्रदान गरेको छ ।

वर्क फर नेपालको समन्वयमा हेल्पिङ हेण्ड झापामार्फत १५ लाख ४३ हजार रुपैयाँ बराबरका सर्जिकल तथा बेड लगायतका आवश्यकीय सामग्री प्रदान भएको हो ।

एक कार्यक्रमबीच हेल्पिङ हेण्डका नेपाल निर्देशक खालिङ मोसिन र वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र अधिकारीले नगर प्रमुख दिलीपकुमार राई, अस्पतालका अध्यक्ष यामप्रसाद गुरागाईं सहितलाई सामग्री हस्तान्तरण गरेका थिए ।

सो अवसरमा बोल्दै नगर प्रमुख राईले २ दिन अघि यूएनएचसीआरले ३ लाख बढीको सामग्री हस्तान्तरण गरेको प्रसंग समेत जोड्दै नगर अस्पताललाई संघ संस्थाहरुले सहयोग पुर्याएकोप्रति खुसी व्यक्त गरे । भर्खरै सुरु भएको नगर अस्पतालका लागि स्थानीयले १२ कठ्ठा बढी जग्गा दान गरिसकेको र अझै १३ कठ्ठा थप जग्गा दान गर्न तयार रहेको कुराले हौसला मिलेको उनले बताए । कार्यक्रममा नगरपालिकाको तर्फबाट हेल्पिङ हेण्डलाई सम्मानपत्रले सम्मानित समेत गरिएको छ ।

सम्बन्धित खवर