असोज १ गते, रमाइलो । मोरङको कानेपोखरी गाउँपालिकामा सामुदायिक र संस्थागत विद्यालयले सिकाई सहजिकरण विधि अपनाई असोज ७ गतेबाट पठनपाठन सुरु गर्नुपर्ने भएको छ । सिकाई सहजिकरण विधि अपनाई पठनपाठन गरिएता पनि विद्यालय भने तत्काल नखुल्ने भएको छ ।
विहिबार गाउँपालिकाको विपत व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । यस क्षेत्रमा कोरोना भाइरस जोखिम नभए पनि आम जनतामा भाइरसको त्रास अझै रहिरहेकोले तत्काल विद्यालय नखुलाउने र सिकाई सहजिकरण विधिबाट भने पठनपाठन सुरु गर्ने निर्णय गरेको छ । शिक्षा शाखाले सामुदायिक, संस्थागत विद्यालयका प्रअहहरुसंग छुटाछुटै छलफल गरेपछि गाउँकार्यपालिका हुर्दै विपद व्यवस्थापन समितिसँग विद्यालय खोल्ने बारेमा परामर्श गरेका थिए ।
विद्यार्थीहरुको भिडभाड नगरी सामाजिक दुरी कायम गर्दै सो विधि लागु गरी पठनपाठनमा विद्यालयले सम्पुर्ण सुरक्षा अपनाउनु पर्ने बताइएको छ । आफ्नो विद्यार्थी भएको घरको चोकचोकमा भेला गरेर पनि पठनपाठन गर्न सकिने छ । सो विधि अपनाई कक्षागत विद्यार्थीलाई विद्यालयमा पनि पठनपाठन गर्न सकिने छ । शिक्षा शाखाको सिकाई सम्बन्धि प्रस्तावित कार्ययोजना अनुसार पनि सिकाई सहजिकरण गर्न सकिने शिक्षा शाखाका विद्यालय निरिक्षक बेग बहादुर काफ्लेले बताए ।
यस अघि शिक्षा शाखाले शैक्षिक संस्था खोल्ने बारेमा सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरुसँग छलफल गरी सकिेको छ । शिक्षा शाखाले विद्यालय संचालन गर्ने बारेमा प्रस्तावित कार्ययोजना बनाएर प्रअसँग छलफल गरेको थियो ।
संस्थागत विद्यालयहरुका प्रतिनिधिहरुले विद्यालय खुलाएर एकै दिनमा सबै कक्षाहरुमा पढाई हुनु पर्ने माग राखेका थिए । एकदिनमा दुई पटक गरेर भएपनि सबै कक्षा संचालन गर्न पाउनु पर्ने माग राखेका थिए । त्यसैगरी सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले भने शिक्षा शाखाले प्रस्ता गरेको विद्यालय संचालन प्रस्तावित कार्ययोजनामा समर्थन जनाएका थिए ।
शिक्षा शाखाको प्रस्तावित कार्ययोजनामा आइतबार र बुधबार कक्षा ३,६ र ९ विहान १० बजेदेखि १ बजे सम्म । त्यसैगरी सोमबार र विहिबार कक्षा ४, ७ र १० विहान १० बजे देखि १ बजे सम्म । मंगलबार र शुक्रबार कक्षा ५, ८, ११ र १२ विहान १० बजेदेखि १ बजे सम्म रहेको छ ।
कोरोना भाइरसको कारण संस्थागत र सामुदायिकका लगभग १० हजार विद्याथी पढ्नबाट बन्चित भएका थिए । कानेपोखरी गाउँपालिकामा सरकारी २३ वटा र संस्थागत २० वटा विद्यालयहरु छन् ।
विश्वव्यापी कोरोना महामारी फैलिएसंगै नेपाल सरकारले कोरोना महामारी नियन्त्रण र रोकथाम गर्न गरेको लकडाउन(बन्दावन्दी) लगभग ५ महिना पछि खुलेको छ । क्रमश लकडाउन खुले संगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी सिकाई सहजीकरण निर्देशिका–२०७७ जारी गरेको थियो । मन्त्रालयले विद्यार्थी सिकाई सहजीकरण निर्देशिका जारी गरेपछि कोरोना प्रभावित नभएको स्थानीय तहमा सावधानी अपनाएर कक्षा संचालन गर्ने अधिकार स्थानीयतहलाई दिएको छ ।