मंसिर १२ गते, पथरी । नगरमै सामाजिक र सृजनात्मक गतिविधिमा सक्रिय मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ मा रहेको प्रभात सामुदायिक युवा क्लबले कात्ती कात्ने, स्लो साइकल रेस सहितका अलि फरकखाले प्रतियोगिता सञ्चालन गरी आफ्नो २५ औं स्थापना दिवस मनाएको छ ।
मंसिर ६ गते सुरु भएको साताव्यापी कार्यक्रमको अन्तिम दिन आज ६ किलोमिटरको मिनि म्याराथन प्रतियोगिता सम्पन्न गरिएको छ । जसमा सहभागि १ सय ५० जनामध्ये वडा नम्बर १ का रोहित आङ्देम्बे पहिलो, वडा नम्बर २ का अशोक लिम्बू दोस्रो र ३ नम्बरका किरण योङ्हाङ तेस्रो भएको क्लब अध्यक्ष नवीनजङ कार्कीले बताए ।
यसअघि २१ जना सहभागी स्लो बाइक रेसमा ९ नम्बरका अर्जुन राई पहिलो भए । २८ जना सहभागि स्लो साइकल रेसमा ८ नम्बरका शिशिर दर्जी पहिलो भए । ढल्क्यो जोवन फुटबल प्रतियोगितामा आयोजक प्रभात सामुदायिक युवा क्लबले हसन्दह फुटबल क्लबलाई ०–१ गोल अन्तरले विजयी भएको छ ।
पाचौं दिन विभिन्न विद्यालयका २० जना विद्यार्थीबीच भएको तिक्ष्ण बुद्धि परिक्षणमा बुद्ध माविकि वविता बस्नेत पहिलो भइन् । ३१ जना महिला सहभागि बात्ती कात्ने प्रतिस्पर्धामा बालकुमारी खत्री प्रथम भएकी छन् ।
कार्यक्रम अन्तर्गत हाजिरी जवाफ प्रतियोगिता रचना वाचन कार्यक्रम पनि भएका छन् । सोमबारे बजार र दुर्गा मन्दिर सरसफाई तथा विभिन्न विद्यालयका विद्यार्थीहरुका लागि हात धुने तालिम समेत सञ्चालन गरिएको छ । रक्तदान कार्यक्रमबाट ५१ पिन्ट रगत समेत संकलन भएको छ ।
आज साँझ नगरका चर्चित गायक समीर विक, नन्दु गुरुङ सहितको गायन तथा साँस्कृतिक कार्यक्रम तथा नगर प्रमुख दिलिपकुमार राईबाट क्लबको नवनिर्मित भवन उद्घाटन्को कार्यक्रम रहेको छ ।