माघ २ गते, पथरी । मोरङको पथरीशनिश्चरे स्थित भुटानी शरणार्थी शिविरमा शुक्रबारदेखि ‘पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रित रिफ्युजी फुटबल च्यालेन्ज कप सुरु भएको छ । च्यालेन्ज कपको उद्घाटन खेलमा पथरीशनिश्चरे फुटबल क्लब मोरङलाई ३–१ को गोल अन्तरले पराजित गर्दै झापाको दुधे फुटबल क्लबले दोस्रो चरणमा प्रबेस गरेको छ ।
खेल बिजेता दुधेका लागि मध्यन्तर अघि सनम राईले खेलको ७ औं मिनेटमा १ गोल गर्दै गोलको खाता खोलेका थिए । त्यसैगरी खेलको २३ औं मिनेटमा सनम राईले पेनाल्टी प्रहारमा अर्को गोल थपेका थिए । त्यसैगरी मध्यान्तर अघिको अतिरिक्त समयमा श्याम मुर्मुले १ गोल गर्दै झापाले पहिलो मध्यान्तर अघि ३–० बनाएका थिए । पथरीशनिश्चरेको लागि खेलको मध्यन्तर पछि सन्तोष गुरुङले सान्तवाना गोल फर्काएका थिए ।
आजको खेलको म्यान अफ द म्याच विजयी टिमका सनम राई घोषित भए । भोलि (शनिबार)को खेल उर्लाबारी फुटबल क्लब र १० नवोदय पथरीशनिश्चरे बीच हुने खेल संयोजक करण चाम्लिङले बताए ।
उद्घाटन कार्यक्रममा पथरीशनिश्चरेका नगर प्रमुख दिलिप कुमार राई (किशोर)ले शुभकामना ब्यक्त गरेका थिए । उद्घाटन कार्यक्रममा भुटानी शरणार्थी शिविर सचिव चम्पासिंह राई, सुनाखरी माबिका प्रधानाध्यपक प्रदीपकुमार राई लगायतको सहभागिता रहेको थियो । खेलको उद्घाट कार्यक्रम र मध्यन्तरमा शरणार्थी कलकारहरुले नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए । प्रतियोगितामा झापा, मोरङ र सुनसरीको १४ वटा टिम सहभागि भएको आयोजक समितिले जनाएको छ । उपाधि बिजेताले एक लाख एक हजार र दोस्रो हुनेले ५१ हजार नगद, ट्रफी र मेडलहरु पाउनेछन् ।