माघ १७ गते, रमाइलो । शनिबार देखी भएको तीन दिने नक आउट फुटबल ‘रमाइलो च्यालेन्ज कप’ मा चारवटा टिमले सेमिफाइनल खेल्ने भएको छ ।
मोरङको कानेपोखरी गाउँपालिकाको जनसेवा माविको खेल मैदानमा शनिबार विहान ११ बजे देखि अपरान्ह ४ बजे सम्म पहिलो चरणको खेल सम्पन्न भएको थियो । पहिलो चरणबाट छनौट भएको चारवटा टिमले भोली आइतबार सेमिफाइनल खेल खेल्ने छ ।
पहिलो खेलमा नव प्रतिभा युवा क्लबलाई २–० गोलको अन्तरले विजयी हुँदै कानेपोखरी सेवा समाज, काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको हो । त्यसैगरी दोस्रो खेलमा मात्रीभूमि समाज सेवा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै कानेपोखरी युथ क्लब सेमिफाइनलको यात्रा तय गरेको छ । त्यसैगरी तेस्रो खेलमा रियल स्टार डुम्रिघाटलाई १–० गोलको अन्तरले पराजित गर्दै हिमाल युनाइटेड बिहिबारे सेमिफाइनलमा पुगेको छ । त्यसैगरी चौथो खेलमा शुभकामना बहुउद्देशिय क्लब दलेलीलाई ३–० फराकिला गोल अन्तरले जीत हासिल गर्दै रमाइलो फुटबल क्लब रमाइलो सेमिफाइनलमा पुगेको हो ।
आइतबार सेमिफाइनल खेलमा समूह ‘ए’ बाट कानेपोखरी सेवा समाज, काठमाडौं र हिमाल युनाइटेड बिहिबारे खेल्दैछ । त्यसैगरी समूह ‘बि’ बाट रमाइलो फुटबल क्लब रमाइलो र कानेपोखरी युथ क्लब विच सेमिफाइनल खेल हुने खेल संयोजक जयराज संयोगले बताए । च्यालेन्ज कपको फाइनले खेल सोमबार हुने भएको छ ।
प्रतियोगितामा विजेता टिमले २५ हजार र उपविजेता टिमले १५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने समाजका अध्यक्ष मेघेन्द्र पराजुलीले बताए । खेलमा म्यान अफ द म्याच र हाई स्कोररलाई पुरस्कार प्रदान गर्ने आयोजकले बताएका छन् । फुटबल च्यालेन्ज कप कानेपोखरी समाज सेवा काठ्माडौंको आयोजनामा भएको हो । जनसेवा माविको खेलमैदानमा भएको खेलमा टिम व्यवस्थापन रमाइलो युवा परिवारले गरेको छ ।
खेलमा कानेपोखरी गाउँपालिकाले १ लाख ६३ हजार सहयोग गरेका छन् । त्यसैगरी खेलको दोस्रो पुरस्कार फुयल सुनचाँदी पसलका संचालक डिल्ली फुयलले प्रदान गर्ने भएको छ । खेलमा जम्मा ७ लाख खर्च हुने आयोजकले बताएका छन् ।