मङ्लबार, माघ २०, २०८२

कानेपोखरी गाउँपालिका क्षेत्रलाई शैक्षिक हब बनाउनुपर्छ : होमकुमार मोते

 

मोरङ कानेपोखरी गाउँपालिकाको लागि सुन्दरहरैचा नगरपालिका १० खोरसानेमा स्थायी बसोबास गर्नुहुने होम कुमार मोते एक परिचित नाम हो । करिब १८ वर्षदेखि शैक्षिक गतिविधिहरुमा निरन्तर समर्पित मोतेले मन्टेश्वरी कोओडिनेटर, विद्यालय इन्चार्ज, भाइस प्रिन्सिपल, प्रिन्सिपलको जिम्मेवारी सम्हालिसक्नु भएका छन । २०७७ सालदेखि अल सोलुसन संस्था मार्फत कम्प्युटर ल्याब र कक्षा ९, १० र ‘प्लस टु’ का ट्युसन कक्षाहरु सञ्चालन गर्दै आउनुभएको छ । उहाँले शैक्षिक सत्र २०८२ देखि नयाँ व्यवस्थापनमा ‘पर्ल एकेडेमी प्लस टु’ कानेपोखरी गाउँपालिका ६, रमाइलो चोकमा सञ्चालन सुरु गर्नुभएको हो । अनेकन चुनौतीहरुलाई छिचोल्दै यस ‘प्लस टु’ कक्षालाई व्यवहारिक, प्रविधिमैत्री र परिवेश सुहाउँदो बनाउँने उहाँले निरन्तर प्रयास गरिरहनु भएको छ । म्यानेजमेन्ट संकाय अन्तर्गत बिजनेस स्टडिच र कम्प्युटर साइन्स अध्यापन भइरहेको यस संस्थामा हाल कानेपोखरीको ७ वटै वडाहरुबाट ३० जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन । ७ जना आर्थिक अवस्था कमजोर र जेहेन्दार विद्यार्थीहरुलाई ५० प्रतिशत छुट दिदैँ हरेक कक्षाकोठाहरुमा स्मार्ट बोर्ड र एसिको व्यवस्थापन गरिएको यस संस्थामा दक्ष तथा अनुभवी शिक्षकहरुबाट अध्यापन भइरहेको छ । आजको यस अङ्कमा सञ्चारकर्मी सनम रोक्कले यसै संस्थाका संचालक होमकुमार मोतेसँग संस्थाको बारेमा गरिएको छोटो कुराकानी प्रस्तुत छ ।

तपाईँले संचालनमा ल्याउनु भएको ‘प्लस टु’ स्कुलको कस्तो छ गतिविधि ?

यस संस्था कानेपोखरी गाउँपालिका वडा नं. ६ स्थित रमाइलो चोकमा अवस्थित छ । हामीले अहिले नयाँ व्यवस्थापन अनुसार पुरानो ठाउँभन्दा करिब १ किलोमीटर दक्षिण नयाँ भवन भाडामा लिएर ७ वर्षदेखि निरन्तर चलिरहेको पर्ल एकेडेमी ’प्लस टु’ लाई यो वर्ष ७ औं ब्याजको रुपमा यहाँ सारेका हौं । यहाँ आधुनिक पढाई शैलीलाई अपनाउँदै हरेक कक्षाकोठामा सिसि क्यामेरा, स्मार्ट बोर्ड, बिजुली ब्याकअपका लागि इन्भटर र विद्यार्थीहरुले प्राप्त गर्ने हरेक सेवा सुविधाहरु सुलभ तरिकाले दिनुपर्छ भन्ने मान्यता सहित हामी आएका छौं । अहिले हामीले व्यवस्थापन संकाय अन्तर्गत बिजनेश स्टडिच र कम्प्युटर साइन्स अध्यापन गराइरहेका छौं जहाँ ३० जना विद्यार्थीहरु अध्ययनरत हुनुहुन्छ ।

कानेपोखरी क्षेत्र ग्रामीण भेग हो जहाँ तपाईंहरुले निकै लगानी गरेर फेरि एउटा ‘प्लस टु’ संचालन गर्नुका पछाडिको कारणहरु केके हुन ?

गाउँपालिका ग्रामीण भेग भएता पनि यहाँका विद्यार्थीहरु पढनका लागि अन्यत्र गइरहेको अवस्थामा उनिहरु आफ्नै घरको खाना खाएर गुणस्तरीय शिक्षा प्राप्त गरुँन भन्ने नै हो । मुख्य कुरा के हो भने हाल विद्यार्थीहरुले निकै ठूलो समस्या भोगिरहेका छन् जस्तै ः ६ बजेदेखि कक्षा हुँदा बिहान ३ बजे उठनुपर्छ जहाँ पढ्ने र अन्य व्यवस्थापनमा सास्ती बोहोर्नु परिरहेको छ । कानेपोखरी एउटा शिक्षाको लागि राम्रो ठाउँ हो जहाँ स्थानीय सरकारले निकै लगानी गरिरहेको अवस्थामा हामीले नै हाम्रो क्षेत्रलाई किन शैक्षिक हब नबनाउनु त ? आज हामीले सुरु ग¥यो भोलि अरुले सुरु गर्नुहुनेछ । अहिलेको समयमा करिब २ सय विद्यार्थीहरु अन्यत्र पढन गइरहेको अवस्थामा ति विद्यार्थीहरुलाई यसै कानेपोखरी क्षेत्रमै राखेर गुणस्तरीय र रोजगारमुखी शिक्षा प्रदान गर्ने उद्देश्य म लगायत हाम्रो समूहको हो ।

तपाईंकै ‘प्लस टु’ रोज्नुपर्ने कारणहरु के छन ?

मुख्य कुरा भनेको विद्यार्थीको समय बचत नै हो । अर्को कुरा गर्नुपर्दा नेपालभर पढिने सरकारले तोकेको पाठयक्रम एउटै हो । त्यति पुस्तक अनि दक्ष शिक्षकहरुबाट आफ्नै गाउँमा पढाइ हुन्छ भने किन बाहिर जाने ? बिहान जान र घर फर्कननै विद्यार्थीहरुले ३ देखि ४ घण्टा लगाइरहेका छन भने किन त्यत्रो समय खर्च भइरहेको छ ? त्यसलाई मध्यनजर गर्दै फजुल खर्च भएको समयलाई त पढाइमा प्रयोग गर्न सकिन्छ नि । हामी प्रत्येक महिना मासिक परीक्षा गर्छौ । प्रत्येक ३ महिनामा त्रैमासिक परीक्षा हुन्छ र सो परीक्षाहरुमा भएका कमिकमजोरीहरुलाई तत्काल निदान पनि गर्छौं जसले विद्यार्थीहरुमा भएका कमिकमजोरीहरु तत्काल सुधार गर्ने मौका मिल्छ । विद्यार्थीहरुको सर्वाङ्गिण विकासका लागि सैद्धान्तिक पढाइ मात्र नभएर प्रयोगात्मक सिकाइका लागि हरेक हप्ता निःशुल्क शैक्षिक भ्रमणहरुको पनि व्यवस्थापन गरेका छौं । जहाँ हस्पिटल, बैक, सहकारी संस्था, उद्योग–कलकारखानाहरु रहने छन । हाम्रोमा पढाइ भइरहेको विषयहरुले सो क्षेत्रमा केके काम गर्ने रहेछ त भन्ने सिकाउछौं । पूर्ण रुपमा व्यवहारिक ज्ञान र भविष्य केन्द्रित हाम्रो सिकाइ रहनेछ । अहिले अवस्थामा कुनैपनि विद्यालयले १२ सकेपछि के गर्ने भन्ने आइडिया प्रदान गर्दैन । १२ पढायो छोडिदियो तर हामीले सोपश्चात् पनि विद्यार्थीलाई के गर्ने रहर छ त्यसलाई पूर्ण रुपमा सहयोग गरिनेछ । हामिले १२ सकेपश्चात् प्रत्येक विद्यार्थीलाई सम्बन्धित विषयगत इंन्टन्शिपको व्यवस्था गरेका छौं जसले करियर निर्माणमा ठूलो सहयोग गर्नेछ ।

शैक्षिक गुणस्तरीयता वृद्धि गर्न तपाईंको शैक्षिक संस्थाको भूमिका कस्तो छ ?

सबैभन्दा सुरुमा त सिकाइले व्यवहारमा परिवर्तन गर्नुपर्छ भन्ने हो । अझपनि विद्यार्थी पढन मन पराउँदैन । कारण के हो भने उसले पढेर भविष्यमा के गर्छु भन्ने सोच्न नसकेर हो । हामी फरक छौं र गुणस्तरीयतामा ध्यान दिएका छौँ भन्ने कारणहरुमा नेपालमै बसेर उद्योग, कलकारखाना, कृषि, बैंक तथा वित्तीय संस्थाहरुमा काम गरिरहेका दक्ष व्यक्तिहरुलाई बोलाएर अभिमुखिकरण प्रदान गर्छौं जुन कारणले विद्यार्थीहरुलाई नेपालमै बसेर देश विकासमा योगदान गर्न सकिन्छ भन्ने उत्प्रेरणा जगाउँछौं । देश खालि नहोस् र दक्ष जनशक्ति विदेश पलायन हुनु नपरोस् भन्ने हाम्रो लक्ष्य रहेको छ । कमजोर विद्यार्थीहरुलाई न्यून शुल्कमा कोचिङको व्यवस्था पनि गरेका छौं ।

हाल अभिभावक, विद्यार्थी र समुदायबाट कस्तो प्रतिक्रिया प्राप्त गरिरहनुभएको छ ?

सोचे भन्दा उत्कृष्ट छ । हरेक अभिभावकहरुलाई आफ्नो बच्चा अन्यत्र पढाउँछु भन्ने रहेनछ तर कतिपय अभिभावकहरुको मनमा अलिकति चिसो पनि पसेको रहेछ सायद हामीले उहाँहरु सामु पुगेर स्पष्ट बनाउन सकेनौं भन्ने महसुस भइरहेको छ । जति अभिभावक र विद्यार्थी हामी समक्ष सम्पर्कमा हुनुहुन्छ उहाँहरु निकै सन्तृष्ट भएको पाएका छौं । इन्ट्रान्स परीक्षामा करिब ९० जना विद्यार्थीहरु उपस्थित हुनुहुन्थ्यो त्यसले हामीलाई थप उत्साहीत बनाएको थियो । यो पटकको प्रयासले अर्को वर्ष अझ राम्रो हुँदै जानेछ भन्ने हाम्रो आशा हो ।

अन्यत्र अध्ययन गर्न गइरहेका विद्यार्थीहरुलाई तपाईं कसरी कानेपोखरीमै पढनुपर्छ भनेर भन्नुहुन्छ ?

म त पहिलो कुरा त्यहीँ भन्छु कि सबैतिरको पाठयक्रम, शिक्षक र प्रश्नपत्र एउटै हो तर व्यवस्थापक कस्तो हुनुहुन्छ भन्ने कुरा हो, त्यसमा हाम्रो व्यवस्थापन एकदमै राम्रो छ । विद्यार्थीलाई सहज, सुविधासम्पन्न भौतिक वातावरणमा पढाइ गराउँछौं । विद्यार्थीहरुले अन्यत्र गएर ११ पढ्ने खर्चले यहाँ पूरा प्लस टु गर्न सक्नुहुन्छ । नजिकै अध्ययन गर्दा बिहान कक्षा भ्याएर पुनः बेलुका कोचिङ्–ट्युसन पढ्न सम्भव हुन्छ तर बाहिर त्यो असम्भव हो । अभिभावकलाई नि आफ्नो छोराछोरीको पढाइ कस्तो छ भनेर नजिक हुँदा बुझ्न जान सहज हुन्छ । कानेपोखरीमा पढाइ नहुने विषय छ भने बाहिर जान ठिक छ तर यहीँ पढाई हुने विषयका लागि बाहिर नगएको राम्रो हो ।

स्थानीय शैक्षिक संस्थालाई बलियो बनाउन के गर्नुपर्छ?

अहिले हामीले विभिन्न शिर्षकमा विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेका छौं र कानेपोखरी गाउँपालिकाबाट एसईइमा सर्वउत्कृष्ट भएका ११ जना विद्यार्थीहरु पढन चाहानुहुन्छ भने सतप्रतिशत छात्रवृत्ति दिन तयार छौँ तर दुःख चै के मा लागेको छ भने सो विद्यार्थीहरुमध्ये केहि अन्यत्र गएर व्यवस्थापन विषयनै पढ्दै हुनुहुन्छ भन्ने सुनेका छौं । हाम्रो नजिक राम्रो हुँदाहुँदै अन्यत्र बसमा कोचिएर, कोठाभाडामा बसेर पढ्नुपर्ने बाध्यता अन्त्य हुनुपर्छ भन्ने हाम्रो सोच हो । र, अन्त्यमा सम्पूर्ण अभिभावक, विद्यार्थी र स्थानीय बुद्धिजिवीहरुले कानेपोखरीमै स्थापना भएको शैक्षिक संस्थालाई जोगाउन पहल गर्नुपर्छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.