असार २२ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले आफ्नो नगरको सञ्चार क्षेत्रको प्रवद्र्धन कार्यक्रम अन्तर्गत एउटा सञ्चार संस्था र एकजना पत्रकारलाई उत्कृष्ठ पुरस्कार प्रदान गरेको छ ।यसरी पुरस्कृत हुनेमा ब्लाष्ट टाइम्स दैनिकमा कार्यरत पत्रकार दिनेश सुब्बा लिम्बु र पथरीबाट प्रकाशित अनमोलमणी साप्ताहिक रहेका छन । २०६४ सालदेखि पथरीबाटै प्रकाशित मोफसल साप्ताहिक पत्रिकाबाट पत्रकारिता सुरु गरेका लिम्बु २०६६ सालदेखि ब्लाष्ट टाइम्स दैनिकमा कार्यरत छ्न ।
त्यसैगरी २०७६ साल देखि कानेपोखरी गाउँपालिकाबाट संचालित निगरानी टाईम्सका प्रधान सम्पादकमा रहेर काम गर्दै आएका छन् । नगरपालिकाले उत्कृष्ट पत्रकारिता गरेकोमा लिम्बुलाई नगद १५ हजार र प्रशंसापत्रले पुरस्कृत गरेको हो ।
त्यसैगरी नगरपालिकाले २०६४ सालबाट निरन्तर प्रकाशन हुँदै आएको अनमोलमणी साप्ताहिक पत्रिकाका प्रकाशन गर्दै आएका सन्तोष राईलाई नगद २५ हजार र प्रशंसापत्रले पुरस्कृत गरेको हो ।प्रदेश १ का सांसद कृष्णकुमारी राई, नगर उपप्रमुख यम्ना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, उपसचिव शालिग्रामक काफ्ले सहितले नगद सहित प्रशंसापत्र प्रदान गरेका थिए ।
नगरपालिकाले कार्यविधी बनाएरै प्रत्येक बर्ष उत्कृष्ट पत्रकार सम्मान, पुरस्कार तथा सन्चार संस्थालाई पुरस्कृत गर्दै नीति बनाएको छ । कार्यविधी अगाडी नै बनेपनी चालू आर्थिक बर्षदेखी पुरस्कृत गर्न थालेको हो ।
कार्यक्रममा १ नम्बर प्रदेश सांसद कृष्णकुमारी राईले सत्य तथ्य समाचारले देशलाई संमृद्दीतिर अघि बढाउने बताए । त्यसैगरी नगर उपप्रमुख यमुना बिष्ट बास्तोलाले कलमले कतिपय मानिसको जीवन जोखिम र घरबार बिगार्ने भएकोले तथ्यको आधारमा मात्र कलम चलाउन सुझाव दिए । विष्टले कलमले समाजलाई सहि दिशातिर अघि बढाउन पहल गर्नुपर्ने बताए ।नगरपालिकाको सहयोग र मिडिया प्रवद्र्धन समितिको समन्वयमा प्रदेश भिजन प्रालिले पुरस्कार वितरण सहित ‘पत्रकार आचारसंहिता, नयाँ प्रविधिको विकास र त्यसको प्रयोग सम्बन्धी १ दिने तालिम तथा लेखनबृत्ती र पुरस्कार वितरण कार्यक्रम’ आयोजना गरेको थियो ।
कार्यक्रममा पत्रकार महासंघ केन्द्रीय पार्षदसमेत रहेका नगरले गठन गरेको लेखन वृत्ति, सम्मान तथा पुरस्कार छनौट समितिका सदस्य अर्जुन जम्नेली राईले नगरपालिकाले बार्षिक रुपमा १५ देखि २५ हजारको लेखन वृति र ६० बर्ष नाघेका पत्रकारहरुलाई मासिक प्रोत्साहन भत्ता उपलब्ध गराउन अनुरोध गरेका छन ।कार्यक्रममा नगरको प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, नगर शिक्षा प्रमुख सालिग्राम काफ्ले, ३, ४, ७ र ८ नम्बर वडा अध्यक्षहरु क्रमश डम्बर चेम्जोङ, गोबिन्द भण्डारी, कपिलमणी ढकाल र बाबुराम दाहाल, कार्यपालिका सदस्य भद्रमान घिमिरे (बिक) लगायतका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
नगरपालिकाले चालू आर्थिक बर्षमा फिपराज बेघा, दिनेश सुब्बा, कुमार खड्का, विबेक न्यौपाले, भूमिप्रसाद पाठक, राजकुमारी तामाङ, एलिना दियाली, अर्जुन काफ्ले र केडि भट्टराईलाई लेखन वृत्ति प्रदान गरेको थियो ।
प्रदेश भिजन प्रालिका प्रवन्ध निर्देशक भिमराज अधिकारीको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा पुरस्कृततर्फका राई र सुब्बाले मन्तव्य व्यक्त गरेका थिए ।
.