सोमवार, मंसिर १, २०८२

७४ वर्षपछि बार्सिलोनाको पोस्टमा ८ गोल

एजेन्सी

साउन ३२ गते, लिस्बन । स्पेनिस पावर हाउस बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा लज्जास्पद हार बेहोरेको छ। च्याम्पियन्स लिग फुटबलअन्तर्गत शुक्रबार राति भएको क्वार्टरफाइनलमा बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखसँग ८–२ को नमीठो हार बेहोरेको हो ।

बायर्न म्युनिखको जितमा थोमस मुलर र फिलिप कोटिन्होले दुईरदुई गोल गरे। यसैगरी इभान पेरिसिक, सर्ज गनाब्री, जोसुवा किमिच र रोबर्ट लिवान्डोस्कीले एकरएक गोल गरे ।

लिस्बनमा भएको खेलमा जर्मन बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिखले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेको थियो। खेल सुरु भएदेखि नै बार्सिलोनालाई दबाबमा राखेको बायर्नले चौथो मिनेटमा नै अग्रता बनाएको थियो। रोबर्ट लिवान्डोस्कीले उपलब्ध गराएको सुन्दर पासमा थोमस मुलरले गोल गर्दै बायर्नको हौसला बढाएका थिए ।

त्यसको तीन मिनेटपछि डेविड अलाबाको आत्मघाती गोलसँगै बार्सिलोना खेलमा फर्किएको थियो। बार्सिलोनाका जोर्दी अल्बाले प्रहार गरेको बल अलाबाले बचाउन खोज्दा गोलमा परिणत भएको थियो ।

खेलको २२औं मिनेटमा इभान पेरिसिकले गोल गर्दै बायर्नलाई २–१ ले अघि बढाएका थिए। सर्ज गनाब्रीले २८औं मिनेटमा गोल गर्दै बायर्नको अग्रता बढाएका थिए। लियोन गोरेट्काले उपलब्ध गराइदिएको बलमा गनाब्रीले गोल गरेका थिए। थोमस मुलरले ३१औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा बायर्नलाई ४–१ को अग्रता दिलाएका थिए। गनाब्रीले उपलब्ध गराएको पासमा मुलरले गोल गरेका थिए ।

खेलको ५७औं मिनेटमा बार्सिलोनाका फरवार्ड लुइस स्वारेजले गोल गर्दै अन्तर घटाएका थिए। उनले जर्दी अल्बाले उपलब्ध गराएको पासमा गोल गर्दै बार्सिलोनाको उत्साह जगाएका थिए। तर, त्यो उत्साह लामो समयसम्म टिक्न सकेन। दोस्रो गोल खाएपछि बायर्न म्युनिखले थप आक्रामक खेल खेलेको थियो। आक्रामक खेल खेल्दै बायर्नले लगातार चार गोल गर्दै बार्सिलोनालाई नमीठो हार चखायो ।

जोसुआ किमिचले ६३औं मिनेटमा गोल गर्दै बायर्न म्युनिखलाई ५–२ को अग्रता दिलाए। अल्फन्सो डेभिसले उपलब्ध गराइदिएको पासमा जोसुआले गोल गरेका थिए। त्यसपछि ८२औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नको खातामा आधा दर्जन गोल पु¥याएका थिए ।

स्पेनिस महारथी बार्सिलोनाको पोस्ट्मा आधा दर्जन गोल गरेपछि पनि बायर्न म्युनिखले आक्रामक खेललाई जारी नै राख्यो। वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका बार्सिलोनाका पूर्वखेलाडी फिलिप कौटिन्होले लगातार दुई गोल गर्दै बार्सिलोनाका समर्थकलाई निराश बनाए। ८५औं मिनेटमा पहिलो गोल गरेका कौटिन्होले खेल सकिन एक मिनेट बाँकी रहँदा अर्को गोल थप्दै बायर्न म्युनिखलाई ८–२ को सानदार जित दिलाए। बार्सिलोना बायर्न म्युनिखसँग च्याम्पियन्स लिग फुटबलमा पराजित भएको छैटौंपटक हो। बायर्नको जितमा उत्कृष्ट प्रदर्शन गरेका थोमस मुलर म्यान अफ दी म्याच चुनिए ।

सन् १९५१ पछि बार्सिलोना ६ भन्दा बढी गोल अन्तरमा पराजित भएको यो पहिलो पटक हो। सन् १९५१ मा बार्सिलोनालाई स्पानियोलले ६–० गोलले हराएको थियो। बार्सिलोनाको पोस्ट्मा ७४ वर्षपछि आठ गोल सम्भव भएको छ। सन् १९४६ मा सेभिलले बार्सिलोनालाई ८–० गोलले पराजित गरेको थियो। बार्सिलोना पछिल्लो पाँच सिजनमा चौथो पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।

यस सिजनको बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिखले अब फाइनल प्रवेशका लागि म्यानचेस्टर सिटी र लियोनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको १२औं पटक हो। बायर्नभन्दा अघि स्पेनिस क्लब रियल म्याड्रिड १३ पटक च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेको छ ।

बायर्न म्युनिखका रोबर्ड लिवान्डोस्की च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। उनले च्याम्पियन्स लिगमा आठ खेल खेल्दै १४ गोल गरेका छन्। च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ताको दोस्रो

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.