कानेपोखरीमा अर्को बेबारीसे नागरिकको मृत्यु

पुस ११ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा फेरी अर्को बेबारीसे भारतीय नागरिकको मृत्यु भएको छ ।

विराटनगर स्थित कोशी अस्पतालमा उपचारको क्रममा पुस ९ गते शनिबार उनको मुत्यु भएको हो । ठेगाना नखुलेको भारतीय मुलका नागरिक ३२ बर्षीय राकेश यादव कानेपोखरी –४ नम्बर वडाको बयरवन बजार क्षेत्रमा मागेर खाने र बस्ने गर्दै आएका थिए । उनी हिन्दीमा अलिक अलिक बोल्ने र उनको नाम राकेश यादव बताउने गरेको नगर प्रहरी इन्चार्ज युवराज भूजेलले बताए ।

कानेपोखरी नगरप्रहरीले ती व्यक्तिलाई उद्धार पछि सरसफाई गरी कानेपोखरी अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको लागि कोशी अस्पताल लगेका थिए । बेबारीसे ती व्यक्तिको मलदुवारबाट रगत बगिरहने र घाँउ धेरै भएकोले पुस २ गते शनिबार विराटनगर स्थित कोशी अस्पतालमा उपचारको लागि भर्ना गरिएको नगरप्रहरी इन्चार्ज भूजेल बताउँछन् ।

यस अघि पूर्वपश्चिम राजमार्ग अन्तरगत कानेपोखरी चोकमा गाडीको ठक्करबाट मृत्यु भएको भारतीय नागरिकको एक हप्ता वितिसक्दा पनि शवको पहिचान नभएपछि शव गाडिएको थियो ।

शव पहिचान नभएपछि पोष्टमार्टम गरी इलाका प्रहरी कार्यालय पथरी र कानेपोखरी नगरप्रहरीले त्यस शव जंगलमा गाडेका थिए ।

पथरी–कानेपोखरी क्षेत्रमा यस्ता मागेर खाने भारतीय नागरिक ८ देखी १० जना सम्म अझै रहेको इप्रकाका डिएसपि वेद प्रसाद गौतमले बताए । भारतीय ठुलो गाडीले विहानको समयमा यस्ता मान्छे भारतबाट ल्याएर छोड्ने गरेको प्रहरी बताउँछन् ।

 

सम्बन्धित खवर