कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले ६७ औं विश्व कुष्ठरोग दिवसको अवसरमा अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ ।
आइतबार भएको अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगितामा वडा नं. –४, को बालजगत इङ्लिस स्कुल प्रथम भएको छ । सरकारी र निजी विद्यालयका १३ वटा माध्यामिक तहका विद्यार्थीहरुलाई पछि पार्दै बालजगत स्कुल प्रथम भएको हो ।
त्यसैगरी प्रतियोगितामा दोस्रो स्थान वडा नं. –४,कै पिनाकल ज्ञान मन्द्रिर स्कुल भएका छन् । त्यस्तै तृतीय वडा नं. ६, को जनसेवा मावि र सान्तवना वडा नं. १ को श्रीमावि होक्लाबारी भएको थियो ।
गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, उपाध्यक्ष राजकुमारी इङ्नाम र निमित प्रमुख प्रशासकीय अधिकृत गोविन्द प्रसाद फुयलले प्रथम, द्धितीय, तृतीय र सान्तवना हुनेलाई क्रमश २० हजार, १५ सय, १ हजार र ५ सय र प्रमाण–पत्रले सम्मान गरेका थिए ।
कार्यक्रममा शिक्षा शाखाको प्रतिनिधि रत्न कार्की, पिनाकल ज्ञान मन्दिर स्कुलका प्रिन्सिपल शितल टुडु र जनसेवा माविका शिक्षिका अनिता पौडेल निर्णयक भूमिकामा रहेका थिए । प्रतियोगितामा प्रश्न नगेन्द्र बस्नेतले गरेका थिए ।