कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्रका कुष्ठरोगी भएका व्यक्तिहरुलाई नगद ५ हजार सहयोग गर्ने भएको छ ।
आइतबार गाउँपालिकामा भएको ६७ औं विश्व कुष्ठरोग दिवसको कार्यक्रममा गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले सो कुराको उद्घोष गरेको हो । उनले कुष्ठरोग लागेको नयाँ विरामी प्रमाण सहित गाउँपालिकामा आएमा रु ५ हजार आर्थिक सहयोग गाउँपालिकाले गर्ने बताएका थिए ।
कार्यक्रममा अध्यक्ष काफ्लेले विभिन्न प्रकारका विरामीहरुलाई बार्षिक ७ सय जनालाई आर्थिक सहयोग गर्दै आएको बताएका थिए । कुष्ठरोग लागेका व्यक्तिहरुले धेरै जसो रोग लुकाउने गरेकोले रोग नलुकाई डाक्टरको सल्लाह अनुसार औषधि सेवन गरेर निको हुन आग्रह गरेका थिए ।
‘कुष्ठरोग विरुद्ध, हाम्रो अभियान भेदभावको अन्त्य मानवअधिारको सम्मान’भन्ने मूल नाराका साथ आइतबार ६७ औं कुष्ठरोग दिवस मनाएको थियो । कार्यक्रम गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेको अध्यक्षतामा भएको थियो, उपाध्यक्ष राजकुमारी इङ्नाम, निमित प्रमुख प्रशासकीय अधिकृत गोविन्द प्रसाद फुयल, नेकपाबाट भोला अधिकारी, नेपाली कांग्रेसबाट योगेन्द्र दाहाल लगाएत अतिथि रहेका थिए ।