पथरी नगर अस्पतालमा कोरोना भाइरस विरामीको लागी छुट्टै दुई वटा बेड

चैत ३ गते, पथरी । मोरङको पथरीशनिश्चरेको नगर अस्पतालले पनि कोरोना भाइरस आशंका हुने विरामीको लागि अस्पतालमा दुई बेड छुटाएको छ ।

सोमाबर नगरपालिकामा कार्यपालिका सदस्य, रेडक्रस, प्रहरी, स्वास्थ्यकर्मीहरुसँग बैठकमा पथरी नगर अस्पतालका मेडिकल अफिसर डा. सावन मेहताले सो कुरा बताएका हुन । डा. सावन मेहताले बैठकलाई सहजिकरण गर्दै कोरोना भाइरस, त्यसले पार्ने हानी तथा बच्ने उपायका बारेमा जानकारी गराएका थिए ।


साबुनपानीले राम्ररी हात धुने, मास्कको प्रयोग गर्ने, हात नमिलाउने, १ सय डिग्रीभन्दा बढी ज्वरो आएमा तुरुन्त चेक गराउने, ज्वरो आएका विरामीहरुले साझा सामान प्रयोग नगर्ने, भिडभाडमा नजाने सहितका सतर्कता अपनाउन आवश्यक रहेको बताए । परिवारका सदस्यमा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएमा अलग्गै बस्ने र तत्काल अस्पताल जानुपर्ने पनि उनले बताए ।

बैठकमा कोरोनाबाट जोगिन होसियारी अपनाउन नगरवासीलाई समेत अनुरोध गर्ने निर्णय पनि भएको छ । जस अनुरुप नेपालीको नमस्कार संस्कृतिलाई अंगाल्दा धेरैहदसम्म भाइरस सर्नबाट जोगिने भएकाले हात नमिलाउन सवैलाई आग्रह गर्ने निर्णय भएको नगर प्रमुख दिलीपकुमार राईले वताएका छन् । उनले कोरोनाबाट बच्न नगरमा आवश्यक सतर्कता अपनाउँदै क्यारेन्टाइन र आइसोलेसनको व्यवस्था समेत गर्दै जाने उल्लेख गरे ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले पनि सवैको सहकार्यमा कोरोना विरुद्ध जुट्न आव्हान गरेका छन् । उनले डेंगु रोग नियन्त्रणका क्रममा नगरमा बनेको र्यापिट रेन्पोन्स टिमलाई यसबेला सक्रिय बनाउने र त्यस प्रकारका विरामी फेला परे नगर अस्पतालमार्फत सम्वन्धित अस्पतालमा रेफर गरिहाल्ने योजना बनाएको बताइन् ।्

नगरको नगरपालिका कार्यालयको साथै अन्य संस्थाका एक्बुलेन्सहरुलाई तैनाथीको अवस्थामा रहन अनुरोध गर्ने तथा अति जरुरी नपरी स्वास्थ्यकर्मीलाई विदा नदिने समेत निर्णय गरिएको छ । दैनिक रुपमा कोरोनाको संक्रमणको अवस्थाका बारेमा बुझ्ने र त्यसको समीक्षा गर्ने तथा नगरवासीलाई विभिन्नखाले त्रास फैलाउने सूचनाको भ्रममा नपर्न समेत आग्रह गर्ने बैठकले निर्णय गरेको छ ।
कोरोनाको सचेतताका लागि प्रत्येक वडा कार्यालयल र विद्यालयहरुमा जानकारीमुलक फ्लेक्स वितरण गर्ने र आवश्यकता अनुसारको जनचेतनामुलक कार्यक्रम समेत सञ्चालन गर्ने समेत छलफलले निर्णय गरेको छ । नगरमा रहेका सञ्चारमाध्यमहरुबाट कोरोनाको सचेतनाको सन्देश फैलाउने काम भनें नगरले गरिरहेको छ । एसइइ बाहेकका सवै परीक्षा चैत ५ गतेसम्म सम्पन्न गर्ने संघले गरेको निर्णयलाई नगरले पालना गरेको छ ।

१ नम्वर प्रदेशमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अञ्चल अस्पताल विराटनगर, विराट मेडिकल कलेज विराटनगर सहितका अस्पतालमा सरकारले कोरोनाको आइसोलेसन उपचार कक्षको प्रवन्ध गरेको छ ।

सम्बन्धित खवर