चैत्र १२ गते, पथरी । कोरोना भाइरस संक्रमण रोक्न गरिएको वन्दका बेला बजारमा अत्यावश्यकीय वस्तुको कृत्रीम अभाव र कालोबजारी रोक्नका लागि मोरङको पथरीशनिश्चरे नगरपालिकाले बजार अनुगमन् कार्यलाई निरन्तरता दिइरहने भएको छ ।
बुधबार पथरी उद्योग वाणिज्य संघ र इलाका प्रहरी कार्यालयका प्रतिनिधि सहितको नगर अनुगमन् समितिको बैठकले बजारमा कृत्रीम अभाव र कालोबजारी सिर्जना गर्न नदिन आफ्नो तर्फबाट सक्रियता अपनाउने निर्णय गरेको छ ।
बैठकले बजारमा कृत्रीम अभाव र कालोबजारी गरेको भेटिएमा कडा कारबाही गर्ने निर्णय गरेको छ । साथै अत्यावश्यकीय वस्तुको किनबेचमा भीडभाड हुन नदिई कम्तिमा २ मिटरको दुरी कायम गरेर सुरक्षित रहन सचेतता अपनाउने समेत निर्णय भएको छ । साथै नगरवासी कोही पनि बाहिर ननिस्किइ सुरक्षीत तबरले घरभित्रै वस्ने कुरामा कडाई गर्न उल्लेख गरिएको छ ।
खाद्यान्न, औषधि सहितका अत्यावश्यकीय वस्तुको सहज आपूर्तिका लागि पथरी उद्योग वाणिज्य संघसँग समन्वय गर्ने पनि निर्णय भएको छ ।
यसका साथै बैठकले कोरोना भाइरसको सचेतना बारे प्रचार गर्दै नगरवासीलाई बाहिर ननिस्किइ सुरक्षित हिसावले घरभित्रै वस्नका लागि सुचित गराउन नगरले माइकिङ गर्ने निर्णय भएको नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाले जनाए ।