धिमाल जातिलाई नगरको पहिलो नागरिकको प्रमाणपत्र प्रदान

पुस ५ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर कार्यपालिकाले धिमाल जातिलाई नगरको पहिलो जातिको प्रमाण पत्र प्रदान गरेको छ ।

सोमबार नगरपालिकाको कार्यालयमा कार्यपालिका सदस्यहरुको सहभागितामा नगर प्रमुख दिलिप कुमार राईको सहित नगर उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलबाट धिमाल जातिलाई नगरको ‘पहिलो नागरिकको प्रमाणपत्र’ प्रदान गरिएको हो ।

पहिलो नागरिक धिमाल व्यवस्थापन समितिका संयोजक भूवन धिमाल सहितका अगुवाहरुलाई सो प्रमाणपत्र प्रदान गरिएको थियो । पथरीशनिश्चरे नगरले ०७५ असार १० गते धिमाल जातिलाई पहिलो नागरिकको घोषणा गरेको थियो ।

सोमबार नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बसेको बैठकले बिभिन्न बिषयमा निर्णय गरेको छ । बैठकले नगरपालिकाले सञ्चालन गरेको वडा नम्बर –२, स्थित नगर अस्पतालका लागि तत्काललाई करार सेवामा २ जना एमबीबीएस डाक्टरको नियुक्ती गर्ने निर्णय गरेको छ ।

त्यसैगरी वडा नम्बर ३ मा पशु अस्पताल निर्माणका लागि जग्गादाताबाट प्राप्त जग्गा वडा कार्यालयले रजिष्ट्रेशन गरी लिने निर्णय गरेको प्रवक्ता यामप्रसाद गुरागाईंले बताए । नगरका ३ घर परिवार आगलागी पिडीतलाई विपद व्यवस्थापन शिर्षकबाट राहत उपलब्ध गराउने पनि निर्णय भएको छ ।

नगरमा संचालित ५ वटा कृषि पशु पकेट कार्यक्रमका प्रस्तावहरुलाई स्वीकृत गर्ने तथा वडा नम्बर १ मा नगरको जग्गामा निर्माण गर्ने व्यवसायिक भवन (सपिङ कम्प्लेक्स) का लागि नगर विकास कोषसँग सम्झौताको प्रक्रिया अघि बढेको उल्लेख गरेको छ ।

 

सम्बन्धित खवर