माघ १८ गते, पथरी । मोरङको पथरीशनिश्चरे–२ का ४८ बर्षीय कमल श्रेष्ठलाई आफ्नै आमाको हत्याको आरोपमा पथरी प्रहरीले पक्राउ गरेको छ ।
९० बर्षीया आफ्नो आमा जगमाया श्रेष्ठको हत्याको आरोपमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । जगमाया माघ १२ गते राती देखी घरैबाट एक्कासी हराएको थियो । हराएको भनिएकी बृद्धाको हत्या पछी प्रमाण नष्ट गर्नका लागि पथरीशनिश्चरेको हरियाली सामुदायिक वनमा रहेको समाधिस्थल घाटमा कमलले एक्लै शव ल्याएर जलाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दीपक श्रेष्ठले बताए । स्थानीयको सूचनाको आधारमा सुक्ष्म अनुसन्धान पछि इलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले सोमबार श्रेष्ठलाई पक्राउ गरेको थियो ।
आमा हराएको भन्दै कमलका दाइले इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिएको थियो । पक्राउ परेका श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा र भाईहरुलाई समेत थाहा नै नदिई आफ्नो श्रींमतीको नाममा बनाएको थियो । उक्त कुरा आमा लगायत अन्य भाईहरुलाई जानकारी भए पश्चात उनिहरले अदालतमा मुद्धा समेत गरेका थिए ।
अदालतले उक्त जग्गा मध्ये ५ कठ्ठा जग्गा आमाको नाममा रहने गरी फैसला सुनाएपछि आक्रोस बनेका श्रेष्ठले रिसको आवेगमा आमाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । कर्तव्य ज्यान मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।