७ पुस, पथरी । मोरङको पथरीशनिश्चरेको सिरिजंगा स्मृति धार्मिक वनमा सिरिजंगा स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
शनिबार उद्घाटन खेलमा सालबारी एकता युवा क्लब, एपीएफ पकली र बेलबारी भलिबल क्लब ‘ए’ विजयी भएको छ । । पोल ए बाट सालबारी युवा क्लब उर्लाबारी र रानी प्रहरी विराटनगर बीच खेल भएको थियो । त्यस्तै एभरेष्ट बोडिङ स्कुल पथरी र बेलबारी भलिबल क्लब बीच खेल भएको थियो भने पोल बी बाट उर्लाबारी भलिबल क्लब र एपिएफ इटहरी बीच खेल भएको थियो ।
भलिबल प्रतियोगितको उद्घाटन पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख देविमाया काफ्लेले गरेकी थिइन् । कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख काफ्लेले खेलको माध्यमबाट नगरको नाम उचो रहने भन्दै आयोजकलाई नगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरिन ।
धार्मिक वन समूहका अध्यक्ष डम्बर चोङ्बाङको अध्यक्षता भएको उद्घाटन कार्यक्रममा वडा नं. १० का अध्यक्ष जीवन खतिवडा, पथरी शनिश्चरे नगर खेलकुद समितिका अध्यक्ष दीपक राई, युवा समाजसेवीद्वय मधु काङ्बा, रविन राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा वडा नं. १० का अध्यक्ष जीवन खतिवडा, किरात याक्थुङ चुम्लुङका केन्दीय अनुसन्धान आयोगका सदस्य फिपराज बेघा र फोनिज मोरङका अध्यक्ष दिनेश सुब्बा लिम्बुले शुभकामना मन्तव्य राखेका थिए ।
भलिबल प्रतियोगिता भोलि पनि हुने र फाइनल पुस १० गते हुने आयोजकका मनि लुङ्फुवाले जानकारी दिए । भलिबल प्रतियोगितामा विजेता टोलीले ६० र उपविजेताले ४० हजार प्रदान गरिने आयोजक समितिले जनाएको छ । किरात याक्थुङ चुम्लुङ र सिरिजंगा धार्मिक वन उपभोक्ता समूहको संयुक्त आयोजनामा सो प्रतियोगिता सुरु भएको हो ।