७ माघ, पथरी । पथरीमा ‘पथरी शनिश्चरे नगर खेलकुद महोत्सव सुरु भएको छ । शनिबार नगर प्रमुख मोहन प्रसाद तुम्वापोले प्रस्तावित पथरी रंगशाला जाँतेमोडमा खेलकुद महोत्सवको उद्घाटन गरेका थिए ।
उद्घाटन समारोहलाई सम्वोधन गर्दै नगर प्रमुख तुम्वापोले भने–‘खेलकुद मानव जीवनको अपरिहार्य कार्य र आवश्यकता हो । नगरवासीमा खेलकुदले उत्साह र उमङ्ग ल्याओस सबैमा शुभकामना व्यक्त गर्दछु ।’
त्यस्तै नगर उप–प्रमुख देविमाया काफ्ले पनि सम्बोधन गरेकी थिइन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शशि राई, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, स्थानीय समाजसेवी, विभिन्न पार्टीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
नगर खेलकुद विकास समितिका संयोजक दीपक राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन सदस्य सचिव नविन खुलाल र स्वागत मन्तव्य सदस्य सुजन बास्तोलाले गरेका थिए । कार्यक्रममा स्वागत नृत्य रेड स्टार माविका विद्यार्र्थीहरुले प्रस्तुत गरेका थिए ।
नगर खेलकुद विकास समितिको आयोजनामा माघ १५ गतेसम्म खेलकुद महोत्सव हुनेछ ।
उद्घाटन खेलमा शिरिजंगा एफसी विजयी
फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सिरिजंगा एफसी बिजयी भएको छ । सिरिजंगाले प्रभात सामुदायिक युवा क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
सिरिजंगाको तर्फबाट शौर्य राउत, अंकित लिम्बु र दिपराज लिम्बुले एक÷एक गोल गरे भने प्रभात सामुदायिक युवा क्लबका तर्फबाट सान्त्वना गोल रोशन माझीले गरेका थिए । खेलको म्यान अफ द म्याच सिरिजंगाका खेलाडी संयोग थापा भएको छ ।