मैत्रीपूर्ण पालिकास्तरीय फुटबल प्रतियोगितामा पथरी शनिश्चरे विजयी

२३ बैशाख, पथरी । पालिकास्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पथरी शनिश्चरे नगरपालिका विजयी भएको छ ।

मोरङको पथरी शनिश्चरे र कानेपोखरी गाउँपालिका बीच आइतबार भएको खेलमा पथरीशनिश्चरे विजयी भएको हो । कानेपोखरी गाउँपालिकालाई ४–२ को अन्तरले गोल गर्दै पथरी शनिश्चरेले उपाधि चुमेको थियो ।

मैत्रीपूर्ण खेलमा दुई पालिकाको जनप्रतिनिधि सहित कर्मचारीको खेल रहेको थियो । खेलमा पहिलो गोल पथरी शनिश्चरेको तर्फबाट सागर श्रेष्ठले गोल गरेका थिए । कानेपोखरी गाँउ पालिकाको तर्फबाट वडा नम्बर ५ का वडाध्यक्ष चरण गुरूङले जवाफी गोल गर्दै खेललाई बराबरीमा बनाएको थियो ।

त्यसपछि पथरीशनिश्चरे नगरका खेलाडीहरू क्रमशः इन्द्रमणि सुवेदी, हेमचन्द्र बुढाथोकी र बालकृष्ण राईले गोल गर्दा ४–१ को फराकिलो अन्तरमा पुगेको थियो । खेलको दोस्रो हाफमा कानेपोखरीका तर्फबाट भुवन लिम्बुले पथरीशनिश्चरे नगरको गोल पोष्टमा गरेको प्रहार गोल रूपान्तरण भएपछि ४–२ को अन्तरमा घटाएका थिए ।

पथरी शनिश्चरेको टिमबाट नगरका प्रमुख प्रशासकीय अधिकृत शशि राई, नगरप्रवक्ता नवीन कार्की, वडा नं २ का वडाध्यक्ष नैना राई, प्रमुख इन्जिनियर सन्तोष केसी, लगायतले कुशल खेल प्रदर्शन गरेका थिए ।

खेलमा पथरीशनिश्चरे नगरका खेलाडी हेमचन्द्र बुढाथोकी म्यान अफ दि म्याच घोषित भए । बुडाथोकीले पुरस्कार स्वरुप १ केरेट कुखुराको अण्डा प्राप्त गरेका थिए ।

प्रतियोगिताका विजेता टिमलाई दुई–दुई केजीका दुईवटा भाले पुरस्कार स्वरूप प्रदान गरिएको थियो । उपविजेता गाउँपालिकाका क्याप्टेन चरण गुरुङलाई २ केजीको एउटा भाले पुरस्कार स्वरूप प्रदान गरिएको थियो । विजेता तथा उपविजेता टिमलाई नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापो र उपप्रमुख देवीमाया काफ्लेले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारी पनि उपस्थित रहेका थिए । पथरीशनिश्चरे १ का वडाध्यक्ष भीम कुमार राई, वडा नम्बर ४ का वडाध्यक्ष लोकिरण न्यौपाने, वडा नं ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, नगरप्रवक्ता नवीनजंग कार्की, लेखा अधिकृत पिताम्बर वस्ती लगायत उपस्थित रहेको थियो ।

सम्बन्धित खवर