पथरीकी सेम्रिल राई बुद्धिचाल प्रतियोगितामा जिल्ला प्रथम

२० जेठ, पथरी । मोरङको पथरीशनिश्चरे—१ की सेम्रिल राई ‘जिल्ला स्तरीय अन्डर फिप्टिन बुद्धिचाल प्रतियोगिता—२०८१’ को छात्रातर्फ प्रथम भएकी छन ।

मोरङ जिल्ला प्रथम भएकी सेम्रिल राई प्रदेश स्तरीय प्रतियोगिता खेल्न छानिएकी हुन । बुद्धिचाल संघ जिल्ला समिति मोरङको आयोजनामा शनिबार उर्लाबारी मंगलबारे स्थित सनसाइन बोर्डिङ स्कुलमा छनौट प्रतियोगिता भएको थियो । सेम्रिल पथरीशनिश्चरे—१ मा रहेको एभरेष्ट बोर्डिङ स्कुलमा अध्ययनरत छन् ।

प्रतियोगितामा छात्रातर्फ पथरीशनिश्चरेकै किर्तिपुर एकेडेमीकी समिरा राई दोस्रोहुँदै प्रदेश स्तरीय प्रतियोगितामा छनौट भएका हुन । सेम्रिल र समिरा प्रदेश स्तरीय छनौट प्रतियोगितामा छानिएको प्रमुख आरबीटर निर्णायक डम्बर बाछना राईले बताए । छात्रातर्फको खेलमा किर्तिपुर एकेडेमीकै स्मारिका गौतम तेस्रो भएका थिए ।

छात्रतर्फ उर्लाबारी सप्तकोशी बोर्डिङ स्कुलका बिकास घोर्साने जिल्ला प्रथमहुँदै प्रदेश स्तरीय प्रतियोगिताको लागि छनौट भएका छन । त्यसैगरी बिराटनगर—११ को सगरमाथा बोर्डिङ स्कुलका भानु गौतम दोस्रो हुदै प्रदेश स्तरीय प्रतियोगिता खेल्ने भएका छन । छात्रतर्र्फ शुभ विष्ट तेस्रो भए । सात राउण्डको खेलमा छात्रतर्फ प्रथम हुने घोर्सानेले ६, ५ अंक ल्याएका थिए भने दोस्रो र तेस्रो हुने खेलाडीले समान ६ अकं ल्याएका थिए ।

पाँच राउण्ड भएको छात्रातर्फको खेलमा भने तीनै जनाले समान ४ अंक ल्याएका थिए । समान अंक ल्याउने खेलाडीहरुको लागि बुजल्स कटको आधारमा निर्णयहुने आरबीटर गणेश बाछाना राईले बताए । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई बुद्धिचाल संघ मोरङ जिल्ला अध्यक्ष सुरेन्द्र सुवेदी, पुकार राई, बुद्धिचालका राष्ट्रिए खेलाडी लोकसागर साम्बा, आरबीटर डम्बर राईले मेडल लगाइ दिएका थिए ।

जिल्लाबाट छानिएका १५ बर्षभन्दा कम उमेरका खेलाडी प्रदेश स्तरीय खेल्ने र त्यहाँबाट छानिएपछि राष्ट्रिय स्तरको प्रतियोगिता खेल्ने बुद्धिचाल संघ मोरङका अध्यक्ष सुरेन्द्र सुबेदीले जानकारी दिए ।

मोरङ जिल्ला छनौट प्रतियोगितामा बिराटनगरदेखि उर्लाबारीसम्मका छात्रा, छात्र गरेर ७३ जना सहभागी रहेका थिए । छनौट प्रतियोगिता खेलाउन पथरीशनिश्चरेको पञ्चायत माविबाट १० जना खेलाडी सहभागी गराइएको शिक्षक शम्भू थापाले बताए ।

सम्बन्धित खवर