वडाद्वारा विद्यालयलाई शैक्षिक, खेल सामाग्री र विद्यार्थीलाई पोसाक वितरण

५ असार, पथरी । पथरी शनिश्चरे ८ नम्बर वडाले मिलन आधारभूत विद्यालयलाई शैक्षिक, खेल सामाग्री र विद्यार्थीलाई पोशाक (ट्रयाकसुट) प्रदान गरेको छ । बुधबार नगरप्रमुख मोहन प्रसाद तुम्बापोले सो सामाग्रीहरु प्रदान गरेका हुन ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय पोशाक (ट्रयाकसुट) प्रदान गरेको छ । विद्यालयमा आवश्यकता अनुसार डेक्सबेन्च, बाल उधान (पिङ, चिप्लेटी, चाकलचुली) तथा खेलौनाका सामाग्रीहरु, शैक्षिक सामाग्रीहरु पनि प्रदान गरेका थिए ।

मादल, गितार, पिटी ड्रम लगायत संगीत कक्षाका सामाग्रीहरु, साना नानीहरूलाई सुत्ने डसना, सिरानी, झुल लगायतका सामाग्रीहरु, वर्षभरि पुग्ने विभिन्न कार्यक्रममा पुरस्कार दिन पुग्ने कापी कलम, डस्टबीन लगायत ४ लाख बराबरको आवश्यक विभिन्न सामाग्रीहरु विद्यालयलाई प्रदान गरेको वडा अध्यक्ष नवीन कार्कीले जनाए । यस्तै विद्यालयमा शैक्षिक सत्र २०८० मा प्रथम÷दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई पुरस्कृत गरी सबैलाई छात्रवृत्ति समेत वितरण गरिएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष कार्कीले वडा कार्यालय वडाभित्र रहेका सबै सामुदायिक विद्यालयको रुपान्तरणमा लागेको र त्यसमा समुदायका सबैले आफ्नोतर्फबाट सहयोग गर्नुपर्ने बताए । प्रमुख अतिथिका रुपमा उपस्थित नगर प्रमुख मोहन प्रसाद तुम्बापोले वडा नं ८ ले सामुदायिक विद्यालय निर्माणमा देखाएको चासो र चिन्ताको बिषयमा वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरु लाई धन्यवाद दिए ।

सम्बन्धित खवर