बिहिबार, मंसिर ४, २०८२

हिसान खेलः रेडस्टार माविको छात्रा तर्फ फुटबल र भलिबलमा प्रथम

१७ माघ, विराटनगर । हिसानको सम्पन्न जिल्ला स्तरीय नकआउट भलिबल तथा फुटबल प्रतियोगितामा पथरी शनिश्चरे–२ स्थित रेडस्टार माध्यमिक विद्यालय छात्रा तर्फ दुबै खेलमा जिल्ला च्याम्पियन बन्न सफल भएको छ । छात्र तर्फ भने रेडस्टार माविले फस्र्ट रनर अप (उपविजेता) को स्थान हासिल गरेको छ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल, मोरङ (हिसान) द्वारा आयोजित हिसान खेल सप्ताह २०८१ सम्पन्न भएको हो ।

बुधबार साँझ विराटनगरस्थित सहिद रंगशाला खेलमैदानमा फक्सलाइटमा खेलाइएको छात्र फुटबल फाइनलमा विराटनगरको कान्तिपुर कलेजले रेडस्टारलाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो। प्रतियोगिता निकै प्रतिस्पर्धात्मक रहेको थियो। रेडस्टार माविका सोनाम छिरिङ गुरुङ ‘म्यान अफ द म्याच’, सौगात राई ‘बेस्ट मिडफिल्डर’ घोषित भए ।

यसैगरी, छात्रा फुटबल प्रतियोगितामा रेडस्टार माविले ओर्चिड कलेज, विराटनगरलाई ३–० को गोल अन्तरमा हराउँदै उपाधि जित्यो। रेडस्टारकी विद्या राई ‘बेस्ट किपर’, सलिजा राई ‘बेस्ट मिडफिल्डर’ तथा स्मृति राई ‘बेस्ट प्लेयर’ घोषित भए ।

छात्रा तर्फको जिल्ला स्तरीय नकआउट भलिबल प्रतियोगितामा रेडस्टार माविले मोडर्न एरा, विराटनगरलाई सोझो दुई सेटमा पराजित गर्दै उपाधि उचाल्यो । यस प्रतियोगितामा रेडस्टारकी आस्मा लिम्बू र स्मृति राई उत्कृष्ट खेलाडी घोषित भए ।

छात्र तर्फको भलिबल प्रतियोगितामा रेडस्टार माविले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म यात्रा तय ग¥यो । प्रतियोगितामा रेडस्टारका विनोद धिमाल ‘बेस्ट सर्भिस’ तथा सुरज राई ‘बेस्ट डिफेन्स’ घोषित भए ।
खेल सप्ताहको समापन तथा पुरस्कार वितरण समारोहमा हिसान मोरङका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल प्रमुख अतिथि रहेका थिए । हिसान मोरङका अध्यक्ष अमित ढकालको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा शिक्षा समन्वय इकाइ मोरङका प्रमुख जीवन गड्तौला, हिसान कोशी प्रदेश अध्यक्ष ज्ञानबहादुर खड्का, हिसान मोरङ उपाध्यक्ष टिएन तिम्सिना, मोरङ प्याब्सन अध्यक्ष जगत बस्नेत, निवर्तमान अध्यक्ष प्रेमलाल सिंह सुवाल लगायत विभिन्न पदाधिकारीहरू उपस्थित थिए ।

समारोहमा विभिन्न विद्यालयका उत्कृष्ट जिपिए प्राप्त गर्ने छात्रछात्राहरूलाई पनि सम्मान गरिएको थियो। प्रतियोगिताका विजेता विद्यालयका खेलाडीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र सहित पुरस्कार प्रदान गरियो ।

रेडस्टार माध्यमिक विद्यालयले यस वर्षको हिसान खेल सप्ताहमा भलिबल र फुटबल दुबै खेलमा छात्रा तर्फ च्याम्पियन बन्ने सफलता हात पारेको छ । छात्र तर्फ समेत फुटबलमा उपविजेता तथा भलिबलमा उत्कृष्ठ प्रदर्शन गर्दै विद्यालयले उच्च सफलता प्राप्त गरेको छ ।
प्रतियोगितामा रेडस्टारका खेलाडीहरूले उत्कृष्ट खेल कौशल प्रदर्शन गरेको भन्दै विद्यालय प्रशासन, शिक्षक तथा अभिभावकहरूले सफल खेलाडीहरूलाई बधाई दिएका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.