एमाले मोरङको २५ सदस्य सचिवालय गठन, विभिन्न निर्णय पारित

९ चैत्र, विराटनगर । नेकपा एमाले मोरङको प्रथम पूर्ण बैठकले २५ सदस्य सचिवालय सदस्य गठन गरिएको छ । विराटनगरस्थित होटल श्रीकृष्णामा बिहीबार सम्पन्न बैठकले सचिवालय गठन गरेको हो ।

बैठकले भोलाप्रसाद अधिकारी, सुवास कुमार सरदार, राजन भण्डारी, श्यामप्रसाद मण्डल, राधेश्याम कट्टेल, पुनम कोइराला, रोशनप्रसाद ढकाल, बबिता खापुङ, मो अजिम आलम, अग्नि भट्टराई, उमाकान्त गौतम, मिना खतिवडा पौडेल, दुर्गा बहादुर विष्ट, शुक्र थापा, योगेन्द्र सुवेदी, सीता तामाङ, प्रज्ञानराज मगर, शुकदेवप्रसाद यादव, वैजु विश्वास र दीपक कर्णलाई सचिवालयमा राखेको हो ।

पदाधिकारीहरू भने स्वतः सचिवालयमा रहने पार्टीको विधानमा उल्लेख गरिएको छ । पदाधिकारीहरु अध्यक्ष राई, उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापा, उपसचिव सन्तोष बान्तवा र उषा झा ठाकुर रहेका छन् ।

अधिवेशन अघि सचिवालयमा रहेका मध्ये १० औँ अधिवेशनबाट निर्वाचित जिल्ला कमिटी सदस्यहरुलाईनै सचिवालयमा राखिएको नेकपा एमाले मोरङका अध्यक्ष अजम्बर राईले जानकारी दिए ।

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईको प्रमुख आतिथ्यतामा १० औँ अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीको पहिलो बैठक विराटनगरमा सम्पन्न भएको थियो ।

बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु र समसामयीक प्रस्तावहरु पारित गरेको छ । उक्त बैठकले चैत्र मसान्तभित्र सवै पालिका अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

पार्टीलाई जनस्तरसम्म पु¥याउने र संगठनात्मक सुदृढीकरण गर्ने प्रस्तावहरू पारित गरेको सचिव सोमराज थापाले जानकारी दिए । प्रायोजित मिथ्या प्रचार र साइबर हमलाको प्रतिवाद गर्ने निर्णय समेत बैठकले गरेको छ ।

त्यसैगरी वडा र टोल तहसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तथा कम्युनिष्ट आचरणयुक्त कार्यकर्ता निर्माणमा जोड दिने, आत्मविश्वास जगाएर पार्टीलाई घर–घर पु¥याउने र जनतामा आशाको उज्यालो दियालो जगाउने बैठकले निर्णय गरेको जनाइएको छ ।

कमिटीले चैत्र मसान्तसम्ममा पालिका कमिटी अधिवेशन सम्पन्न गर्ने, जनसंगठनको सम्मेलन गर्ने, पार्टी संगठित सदस्यता वृद्धि–विस्तार, नवीकरण र मातहत कमिटीको कार्यालय व्यवस्थापन गर्ने लगायतकाम कार्ययोजनासमेत बैठकले पारित गरेको उपसचिव सन्तोष वान्तवाले जानकारी दिए ।

बैठकलाई नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जिवन घिमिरे, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, केन्द्रीय सल्लाहकार परिषद सदस्य विनोद ढकाल, पूर्वअध्यक्ष बाबुराम कार्कीले सम्बोधन गरेका थिए ।

बैठकमा केन्द्रीय सदस्य रामलाल साह, नैनकला ओझा, युवाराज बास्कोटा, केन्द्रीय सल्लाहकार परिषद सदस्य यशोदा अधिकारी, प्रदेश कमिटी सचिव राजकुमार भण्डारी, प्रदेश कमिटी सदस्यहरु, नवनिर्वचित जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो । बैठकमा उपाध्यक्ष सागर थापाले स्वागत मत्तव्य राखेका थिए ।

 

बैठकका निर्णयहरू यस प्रकार छ :

अध्यक्ष अजम्बर राईको अध्यक्षतामा सम्पन्न नेकपा (एमाले) मोरङ जिल्ला कमिटीको पहिलो बैठक २०८१ चैत ७ गते विराटनगरबाट पारित प्रस्तावहरू :

१) यो बैठक, दशौं जिल्ला अधिवेशन ९२०८१ फागुन १७–१९, विराटनगरलाई अत्यन्तै उत्साहित माहौलमा असाधारण महत्वको भव्य, सभ्य र उपलब्धिमूलक ढंगले सम्पन्न गर्नमा अहोरात्र खट्दै र जुट्दै अथाह योगदान गर्नुहुने निवर्तमान संगठन कमिटीको संयोजक कमरेड बाबुराम कार्कीलगायत सम्पूर्ण नेतृत्वप्रति हार्दिक सम्मान अर्पण गर्दछ ।

२) यो बैठक, दशौँ जिल्ला अधिवेशन ९२०८१ फागुन १७–१९, विराटनगर लाई राजनीतिक बैचारिक कामको ऐतिहासिक महत्वका साथ सफल पार्न पार्टी अध्यक्ष श्रद्धेय केपी शर्मा ओलीको शुभेच्छा–सन्देशसहित प्रमुख अतिथिको रूपमा पाल्नुहुने उपाध्यक्ष कमरेड रामबहादुर थापा, उपाध्यक्ष कमरेड गुरु बराल, उपमहासचिव कमरेड प्रदीपकुमार ज्ञवाली, नेताहरू कमरेड शेरधन राई, भानुभक्त ढकाल, हिक्मतकुमार कार्कीलगायत सम्पूर्णप्रति आभार व्यक्त गर्दै अधिवेशनकक्षमा नेतृत्वबाट प्राप्त शिक्षाबाट शिक्षित–दीक्षित रहँदै अघि बढ्ने संकल्प गर्दछ ।

३) यो बैठक, दशौं जिल्ला अधिवेशन ९२०८१ फागुन १७–१९, विराटनगर लाई सफल पार्न गठित जिल्ला इञ्चार्ज कमरेड जीवन घिमिरे नेतृत्वको अध्यक्षमण्डल, कमरेड सुरेशलाल श्रेष्ठ आयुक्त रहनुभएको निर्वाचन आयोग, कमरेड यज्ञ शर्माको नेतृत्वमा गठित बहस लेखन तथा माइन्युट कमिटी, निर्वतमान कमिटीको तर्फबाट कमरेड बाबुराम कार्कीले पेश गर्नुभएको राजनीतिक बैचारिक कामको प्रतिवेदनसहित मोरङको समृद्धिको परिकल्पनालाई अबको कामको खाकाचित्रको रूपमा उतार्ने प्रण र प्रतिबद्धता जाहेर गर्दछ ।

४) यो बैठक, राजनीतिक र रणनीतिक महत्वका साथ पार्टीको चालू जराकेन्द्रीत अभियानलाई वडा र टोलसम्म सघन ढंगले लैजाने कार्यक्रमिक प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्दछ ।

क) पार्टी सदस्यता वृद्धि, नवीकरण, बिस्तार, अनलाइन अभिलेखीकरण, प्रशिक्षण र परिचालनजस्ता आधारभूत रूपमा चुस्तदुरुस्त हुनुपर्ने पार्टी सदस्यतासम्बन्धी सबैखाले कामलाई सुव्यवस्थित गर्ने,

ख) कम्तिमा वडा तहसम्मका कमिटीका अधिवेशन र जनसंगठनको हकमा पालिकासम्मका समितिहरूको सम्मेलन सम्पन्न गरिसक्ने,

ग) एमालेप्रति आस्था राख्ने, एमालेलाई रुचाउने जसकसैलाई जिम्मेवारी र भूमिकाविहिन नबनाउने उद्देश्यका साथ सबै टोलमा पार्टी कमिटी र पार्टी सम्बद्ध जनसंगठनहरू बनाउने र सुचारु गर्ने,

घ) राजनीतिक बैचारिक दिशानिर्दिष्ट राजनीतिकसत्ता र जनप्रतिनिधिको भूमिकामार्फत हामीले प्राप्त गरेको राजकीयसत्तालाई एकअर्कासँग पुरक सम्बन्धका रूपमा जोड्ने,

ङ) पार्टी संगठनात्मक जीवनमा देखिने अराजकता र भेटिने अवसरवादलाई पराजित गर्न कमिटी जीवनमा व्यापक शुद्धीकरण गर्ने,

च) प्रायोजित मिथ्या–प्रचार (साइवर हमला) को हामीले गरेका काम र राजनीतिक बैचारिक उद्देश्यअनुरुप ठाउँको ठाउँ प्रतिवाद गर्ने,

छ) भ्रामक प्रचारवाजीबाट भ्रमित हुन नदिन र भ्रम पर्न नदिन वडा र टोल तहसम्म प्रशिक्षण चलाउने,

ज) कम्युनिष्ट आचरणयुक्त कार्यकर्ता निर्माणमा जोड दिँदै गर्दा आत्मविश्वास जगाएर पार्टीलाई घर–घर पु¥याउने र जनतामा आशाको उज्यालो दियालो जगाउने,

झ) समाज र समाजको सुक्ष्म समुदायमाझ पुग्दै गर्दा आवाजविहिनहरूको आवाज भनेकै एमाले हो भन्ने मानक स्थापित गर्ने,

ञ) आधारभूत तहका जनताका माग, मामिला, मुद्दा र समस्यामा समाधानमा भरपर्दे अग्रसरता लिने र आर्थिक–सामाजिक तथा सांस्कृतिक रुपान्तरणलाई तिब्रता दिने,

ट) युवामा विचलन आउन नदिन तिनको पहुँच बढाउने उद्देश्यका साथ युवा नेतृत्व विकासको योजनाबद्ध कार्यारम्भ गर्ने,

ठ) अबको पार्टी काममा उपलब्ध प्रविधिलाई सहयोगी बनाउने र डिजिटल माध्यम अपनाउन वडा तहसम्मका पार्टी कमिटीलाई सुसूचित गर्ने र आवश्यकताअनुसार सचेत पार्ने,

ड) जनतासँग जनसंगठन अभियान चलाउने, अभियानमार्फत वडासम्म जनसंगठनका कमिटी निर्माण, सदस्यता बिस्तार, विषयगत प्रशिक्षण र सम्बन्धित समुदायका समस्या समाधानमा अग्रसरता लिने,

ढ) वडा तहसम्म पार्टी कार्यालयहरू सुव्यवस्थित गर्ने, स्थानीय समुदायको समस्या सुनवाइ केन्द्रको रूपमा पार्टी कार्यालयलाई सञ्चालनमा ल्याउने ।

५) यो बैठक, चालू जराकेन्द्रीत अभियानअन्तर्गत चैत मसान्तसम्ममा सम्भव भएसम्म पालिका कमिटी अधिवेशन सम्पन्न गर्ने, पार्टी सम्बद्ध जनसंगठनको सम्मेलन गर्ने, पार्टीको सम्पर्कमा आएको समुदायमाझ पुगेर पार्टी संगठित सदस्यता वृद्धि–बिस्तार गर्ने, पार्टी सदस्यता नवीकरण गर्ने र मातहत कमिटीको कामको कार्यालय व्यवस्थापन गर्ने कार्ययोजना अघि सार्दछ ।

६) यो बैठक, दीर्घकालीन रणनीतिक उद्देश्य प्राप्तिका लागि राजनीतिक महत्वका हिसावले प्राथमिकताहरू छनौट र निर्धारण गर्ने सन्दर्भमा अर्थपूर्ण जनसहभागिताको आवश्यकतालाई दृष्टिगत गर्दै समुदायका मुद्दाको पहिचान, समस्या समाधानको पहल, माग र चाहनामा आधारित रहँदै संगठन निर्माणको अभियानलाई तिब्रता दिने संकल्प गर्दछ ।

७) यो बैठक, उद्यममा आधारित पार्टी सदस्य संख्या वृद्धि, उद्यमशील कार्यकर्ता परिचालनमार्फत पार्टी र व्यक्ति दुबैको आर्थिक सुदृढीकरण, समाजको आदर्श पात्रको रूपमा उभिन सक्ने कम्युनिष्ट कार्यकर्ता आचरण विकास, जबजमैत्री संस्कार निर्माण आदिका अभियानहरूलाई सघन ढंगले बढाउन आवश्यक रहेको ठहर गर्दछ ।

८) यो बैठक, पार्टी विधानको व्यवस्थाअनुसार पूर्ण कमिटी, सचिवालय र पदाधिकारीहरूबीचको कार्यविभाजन निर्वाचित सबै जिम्मेवारमाझ बाँडफाँड गर्दै सबैको सहभागितामा संरचनागत व्यवस्थापनसहित कमिटी प्रणालीलाई उभ्याउन प्रतिबद्ध रहेको उद्घोष गर्दछ ।

९) यो बैठक, आगामी वर्षको लागि बजेट निर्धारण, आर्थिक स्रोत परिचालन तथा कोष व्यवस्थापनको रणनीतिक योजना निर्माण, रखरखावको पारदर्शिता कायम गर्न लेखापरीक्षणका लागि लेखापरीक्षकको अनिवार्यता ध्यानमा राख्दै तपशिलअनुसारको नेतृत्वलाई जिम्मेवारी सुम्पेको विषय सार्वजनिक महत्वका साथ अघि बढाउने उद्घोष गर्दछ ।

१०) यो बैठक, पार्टी संगठनलाई अझ सुदृढ बनाउन पार्टी ऐतिहासिक दशौँ राष्ट्रिय महाविधेनद्वारा पारित विधानको व्यवस्थालाई अक्षरश अनिवार्य कार्यान्वयनमा ल्याउन निर्देश गर्दछ ।

११) यो बैठक, हाम्रो पार्टी र मूलतः पार्टीको मूल नेतृत्वमाथि भइरहेको चौतर्फी हमलाको घोर निन्दा र एकस्वरमा भत्सर्ना गर्दै वर्गवैरीका कुनै पनि खाले हतकण्डालाई सघाउ पुग्ने खालका गतिविधि नगर्न सम्बद्ध सबैलाई निर्देशनसहित गम्भीर ध्यानाकर्षण गराउदछ ।

१२) यो बैठक, पार्टी संगठनभित्रको परस्पर समन्वय र समन्वयात्मक सुधार योजनामार्फत आन्तरिक बहस–विमर्श वा असन्तुष्टिका पक्षहरूलाई लिएर समाधान गर्ने उपाय खोज्न तयार रहेको व्यहोरा अनुरोध गर्दछ ।

१३) यो बैठक, पार्टी संगठन र जनसंगठनको काम र कार्यशैलीलाई जनाधारित तुल्याउन र थप प्रभावकारी बनाउन सुझावहरू लिने प्रक्रियालाई राजनीतिक नेतृत्व र यस सँगसँगै सार्वजनिक महत्वका क्षेत्रमा सामाजिक सम्बन्ध विस्तार र सञ्चार रणनीतिलाई अपनाउने उद्घोष गर्दछ ।
१४) यो बैठक, आमसञ्चार, सामाजिक सञ्जाल, मिडिया वा अन्य सञ्चार माध्यममार्फत पार्टी संगठनलाई प्रभावकारी रूपमा प्रवद्र्धन पार्टीको एकद्वार प्रणाली लागू गर्नुपर्ने वा हुनुपर्नेमा सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गर्न गराउन चाहन्छ ।

१५) यो बैठक, आधारभूत समुदायका पहिचानमा आए नआएका मुद्दा र समस्यामा आधारित रहँदै समाजमा क्रियाशील अन्य कतिपय संघसंस्थासँग राजनीतिक चरित्रअनुरुप सहकार्यका सम्भावनाहरू खोज्न जनसंगठनलाई प्रशिक्षित तुल्याउनुपर्ने आवश्यकता औंल्याएको पक्षलाई उजागर गर्न चाहन्छ ।

१६) यो बैठक, आजदेखि आरम्भ भएको एसइई र कक्षा ८ को बोर्ड परीक्षामा सामेल लाखौँ विद्यार्थी भाइबहिनीलाई सर्वोकृष्ट सफलता आर्जन गर्न र औपचारिक पढाइलेखाइको क्षेत्रमा अग्रसरता लिन हार्दिक शुभेच्छा व्यक्त गर्दछ ।

१७) यो बैठक, धनपालथान गापा वडा नं. ७ मा भएको आगलगीबाट मानिसका २४ वटा घरबारसहित स्थानीय भौतिक संरचनाको तहसनहस र मानवीय क्षतिप्रति चासो र चिन्ता व्यक्ति क्षतिपूर्ति भर्नका लागि सरकारको ध्यानाकर्षण गर्दै मोरङको पार्टी काममा संलग्न उर्लाबारी निवासी कमरेड तेजनाथ घिमिरेको दिवंगत श्रेद्धय पिता, विराटनगर निवासी भीमकुमार आचार्यको दिवंगत श्रद्धेय पिता कृष्णप्रसाद आचार्य र विराटनगर निवासी कमरेड सरस्वती खरेलको श्रद्धेय आमाको देहावसानप्रति श्रद्धाभाव अर्पण गर्दै शोकाकूल परिवारजनमा गहिरो शोक–समवेदना एवम् सहानुभूति प्रकट गर्दछ ।

सम्बन्धित खवर