बुधबार, बैशाख ३०, २०८३

अजम्बरी साना किसान कृषि सहकारीको साधारणसभा सम्पन्न

 

राजकुमारी तामाङ
३० वैशाख, कानेपोखरी । मोरङको कानेपोखरी–२ केरौनस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थाको प्रारम्भिक साधारणसभा सम्पन्न भएको छ । सहकारीको तोरी मिल भवनमा आयोजित साधारणसभा संस्थाको एकीकरणपछिको पहिलो साधारणसभा हो ।

अजम्बरी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड र साना किसान कृषि सहकारी संस्था लिमिटेड बीच एकीकरण भई स्थापना भएको सहकारीको साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । सविता राईको संयोजकत्वमा रहेको ११ सदस्यीय तदर्थ समितिले सम्पन्न गराएको निर्वाचनबाट विर्षकला राई अध्यक्ष, सरस्वती पाण्डे उपाध्यक्षसहित ९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको जनाएको छ ।

कार्यक्रममा संयोजक सविता राईले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा सुपरिवेक्षण समिति संयोजक तुलसी कार्कीले लेखा प्रतिवेदन वाचन गर्नुभएको थियो । हाल सहकारीमा १ हजार १७ जना सदस्य आबद्ध रहेका छन् । कार्यक्रम सञ्चालन इन्द्रकुमारी लिम्बुले गर्नुभएको थियो ।

साधारणसभामा कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्गनामको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राजमती इङ्गनामले एकै उद्देश्य र भिजन बोकेका सहकारी संस्थाहरूबीच एकता आवश्यक रहेको बताउनुभयो । उहाँले कानेपोखरी क्षेत्रका समान प्रकृतिका सहकारीहरूलाई एकीकृत भई अघि बढ्न आग्रह गर्नुभयो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.