असोज २० गते, काठ्माडौं । प्रदेश नं ५ को स्थायी राजधानी भालुबाङ बनाउने र उक्त प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव त्यहाँको प्रदेशसभाले दुईतिहाइ बहुमतसहित अनुमोदन गरेको छ ।
मङ्गलवार भएको मतदानमा उक्त प्रस्तावलाई दुईतिहाइ सांसदहरू समर्थन गरेका थिए । राजधानी सम्बन्धी प्रस्तावको पक्षमा ६९ मत परेको थियो भने प्रदेश नामकरणको पक्षमा चाहिँ ७९ मत परेको थियो ।
प्रदेशसभामा रहेका ८७ मध्ये चार सांसद भने उपस्थित थिएनन् । भालुबाङलाई राजधानी तोक्ने विषयमा सत्ताधारी नेकपाकै कतिपय सांसदहरूले तीव्र अहसमति जनाउँदै आएका थिए ।
यद्यपि मतदानमा भने उनीहरूले पनि सरकारी प्रस्तावमै समर्थन गरे । प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव पारित गर्न दुईतिहाइ मत आवश्यक पर्ने संवैधानिक व्यवस्था छ ।
त्यसका लागि कुल ५८ मत आवश्यक परे पनि राजधानीको पक्षमा ६९ मत आएको थियो । प्रस्तावको पक्षमा राप्तीपारिका नेपाली काङ्ग्रेसका सांसदहरूले पनि समर्थन जनाएका थिए ।
साबिकको लुम्बिनी अञ्चलका सत्ताधारी दलका एक दर्जनभन्दा बढी सांसदहरूले अहिलेको अस्थायी राजधानी बुटवललाई नै स्थायी राजधानी तोक्नुपर्ने माग गर्दै आएका थिए । तर मतदानमा भने उनीहरूले पार्टीको निर्णयलाई नै पछ्याए ।
नामकरण
प्रदेशको नामकरणबारे खासै विवाद थिएन । त्यसैले नामका विषयमा सत्ता र प्रतिपक्षका सांसदहरू एकै ठाउँमा देखिए । प्रदेश सरकारले उक्त प्रदेशको स्थायी राजधानी दाङको भालुबाङलाई बनाउने प्रस्ताव गरेपछि विभिन्न स्थानमा विरोधप्रदर्शनहरू भएका थिए ।
प्रदेशसभा भएको बुटवलमा हिंसात्मक घटनाहरू पनि भएका थिए । सरकारले प्रदेश नामकरण र राजधानीको प्रस्ताव अचानक ल्याएको भन्दै प्रदेशसभामा सोमवार होहल्ला र कुर्सी तोडफोड समेत भएको थियो ।
प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेल र विपक्षी दलका नेता वीरेन्द्र कनौडियाले अब यस्तो अवस्था नदोहो¥याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । लुम्बिनी प्रदेशको राजधानी भालुबाङ अर्घाखाँचीको सीमामा पर्ने दाङ जिल्लाको सहरोन्मुख क्षेत्र हो ।
राजधानीका लागि दाङको राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिका क्षेत्रको राप्ती नदी किनारको मैदानी भाग देउखुरी उपत्यकालाई समेटिएको भनिए पनि अहिले त्यहाँ कुनै संरचनाहरू बनेका छैनन् ।
मुख्यमन्त्री पोखरेलले त्यहाँको गुरुयोजना एक वर्षभित्र बनाउने र अर्को वर्षदेखि निर्माणको काम सुरु गर्ने बताएका छन् । बिबिसीबाट



