वडाको मेलमिलाप केन्द्रसँग एक दिने अन्तरक्रिया

चैत ७ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको आयोजनामा ‘मेलमिलापका क्रममा आएका चुनौति र समाधानका उपाय’ सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार नगरपालिकाको सभा हलमा भएको कार्यक्रममा १० वटै वडाका मेलमिलाप केन्द्रका संयोजक र सदस्यहरु अन्तरक्रिमा सहभागी भएका थिए । स्थानीय तहमा विवादका पक्षहरु बिच मेलमिलाप गराउँदा कस्ता समस्याहरु आए र त्यस्ता समस्याहरुको समाधानका लागि के गर्ने भन्ने बिषयमा छलफलका साथै अन्तरक्रिया भएको नगरका न्यायिक समितिका सदस्य पर्शुराम न्यौपानेले बताए । अन्तरक्रियालाई अधिवक्ता गणेश लुईटेलले सहजिकरण गरेका थिए ।

कार्यक्रमका सभाध्यक्ष नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक यमुना विष्ट वास्तोलाले न्यायिक समितिमा आएका उजुरीमाथि मेलमिलाप गराउँदा केही समस्याहरु आउने गरेपनि त्यसको समाधानको बाटो खोजेर सवैजसो उजुरीमा मिलापत्र गराउन सफल भइएको बताए ।

कार्यक्रममा, नगरपालिकाका कानूनी सल्लाहकार अधिवक्ता दीपककुमार राई, न्यायिक समिति सदस्य भद्रमान विश्वकर्मा, पर्शुराम न्यौपाने र उजुरी प्रशासक विश्वमणि निरौलाले न्याय सम्पादनका क्रममा आएका समस्या र समाधानका प्रयासहरुका बारेमा जानकारी गराएका थिए ।

नगरपालिकामा न्यायिक समिति स्थापना सँगै अहिले सम्म १४ सय भन्दा बढी न्याय सम्पादन गरिसकेको छ । निरन्तर जनताको न्याय सम्पादनमा प्रदेश १ कै उत्कृष्ट नगरपालिकाको रुपमा परिचित रहेको छ ।

 

सम्बन्धित खवर