राजकुमारी तामाङ
चैत ३० गते, कानेपोखरी । सरकारले देशभर एकै चोटी वैशाख १ गतेदेखि व्यक्तिगत घटना दर्ता अभियान सुरु गर्ने भएको छ । गृहमन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बैशाख १ देखी १६ गतेसम्म व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन गर्ने भएको हो ।
सोही अभियान अन्तगरगत मोरङको कानेपोखरी गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र व्यक्तिगत घटना दर्ताको लागि सोमबार पत्रकार सम्मेलनको आयोजना गरी बैशाख २ गते देखी गर्ने कार्यक्रम बारे सार्वजनिक गरेका छन् । गाउँपालिकाले जन्म, मृत्यु, बसाइँसराइ, सम्बन्ध विच्छेद र विवाह दर्ताको घटना दर्ता अभियान सञ्चालन गर्न लागेको हो ।
गाउँपाकिलाले वैशाख २ गते वडा नं. ७ मा शुक्रबारेको त्रिवेणी चौक, चालिस विघे चोक र शान्तिदेवी आधारभूत विद्यालय, वैशाख ३ गते वडा नं. ६ मा विहिबारे चोक, सामुदायिक वन कार्यालय र मिलचोक सुनकोशी, ४ गते वडा नं. २ मा जनमत सरस्वती आवि, बोहोरा टोल, दलेली खोपकेन्द्र ५ गते वडा नं. ४ मा पिङ्डाँडा, धम्कुवा चोक र नारायण चोक, ६ गते वडा नं. ३ मा बाल मावि हरकपुर, शिक्षा सदन मावि र कालीमन्दिर राजगंज, ७ गते वडा नं. ५को कानेपोखरी चिसाङवस्ती, सिंहदेवी मावि र भौसाबारी चोक, त्यसैगरी वैशाख ८ गते वडा नं. १ को डिपु चोक, सेते चोक र स्वास्थ्य चौकीमा दर्ता शिविर राखिने गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले पत्रकार सम्मेलनमा बताए ।
बैशाख २ गतेदेखि ८ गते सम्म ७ वटा वडाको तीन तीन स्थानमा र बाँकी ९ गतेदेखि १६ गतेसम्म वडा कार्यालय र गाउँपालिकाको पञ्जिकरण शाखाबाट समेत शिविर संचालन हुने भएको छ ।
शिविरमा दर्ता गरिने मुख्य विषयबस्तुहरु व्यक्तिगत घटना दर्ता(जन्म,मृत्यु,विवाह, सम्बन्ध विच्छेद, वसाईसराई), सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि सूचना तथा विवरण दर्ता र गूनासो सुनुवाई हुने छ । सरकारले २०८० साल अर्थात सन् २०२४ सम्ममा जन्मदर्ता शतप्रतिशत पुर्याउने र अरु व्यक्तिगत घटना दर्तामा उल्लेख्य वृद्धि गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई सहयोग पुर्याउन पनि अभियान सञ्चालन गर्न लागिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।