जेठ १४ गते, रमाइलो । मोरङको कानेपोखरी–रंगेली सडक अन्तरगत कानेपोखरी –५ स्थित शान्ति चोकमा गुडिरहेको ट्रयाक्टरको टल्ली भित्र मोटरसाइकल पस्दा एक युवाको ज्यान गएको छ ।
वडा नं. २ का ३२ बर्षिय दिलिप चौधरीको सडक दुर्घटनामा परी विहिबार बेलुका ज्यान गएको हो । दक्षिणबाट उत्तर आइरहेको को २ त ९८५८ नम्बरको गिटी बोकेको ट्राक्टरमा सोही दिशाबाट आइरहेको को ३२ प ३७६९ नम्बरको मोटरसाईकल ट्रयाक्टरको पछाडीको टल्ली भित्र छिरेपछि दुर्घटना भएको थियो ।
मुल सडकबाट ट्रयाक्टर शाखाबाटोमा मोडलिने क्रममा सोही दिशाबाट आएको मोटरसाइकल ट्रयाक्टरको पछाडी भागको टल्ली भित्र छिरेको थियो । दुघर्टनामा गम्भिर घाइते भएको मोटरसाइकल चालक चौधरीलाई विराटनगरको कोशी अस्पताल लैजाने क्रममा विराटनगरमा मृत्यु भएको अस्थाई प्रहरी चौकी रमाइलोका सई देवी बहादुर राउतले बताए ।
मोटरसाईकलमा सवार अर्का व्यक्ति सोही वडाका २६ बर्षिय जनम पाँचकोटी भने सकुसल रहेको छ । पथरीशनिश्चरे –६, घर भएको नाम नखुलेको ट्रयाक्टर चालक भने घटना स्थलबाटै फरार भएका थिए । ट्रयाक्टर र मोटरसाइकल इलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा रहेको छ ।