पथरीशनिश्चरेमा विभिन्न संघसंस्थाबाट राहत सामग्री थपिदै

चैत २९ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रभित्र खाद्यान्न राहत संकलन हुने क्रम पनि बढेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न गरिएको बन्द (लकडाउन) का कारण बढी समस्यामा परेका दैनिक ज्यालामजदुरी गर्नेका घरपरिवारको लागि राहत संकलन भएको हो ।

शनिबार पथरीशनिश्चरे–२ को रेडस्टार बोर्डिङ र ३ को किरात एकेडेमीले संयुक्त रुपमा १ हजार केजी चामल, २ सय ५० केजी नून र १२ सेट व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री (पीपीइ) हस्तान्तरण गरेको छ ।

यसअघि पथरी जेसीजले ५ सय केजी चामल नगरको राहत समितिलाई प्रदान गरेको छ । नेपाली कांग्रेस ९ नम्वर वडा समितिले ४ सय ५० केजी चामल, २० लिटर तेल र ८ केजी दाल उपलब्ध गराएको छ । सोही वडाका समाजसेवी भूपाल पाण्डेले १ सय केजी चामल, मनोज खाध स्टोरका प्रोप्राइटर मनोज गुप्ताले २५ केजी चामल र ५० केजी नून उपलब्ध गराएको ९ नम्वरस्थित वडा राहत समितिले जनाएको छ । यस अघि वडा नम्वर ९ मा ७ सय किलोग्राम चामल, ५ लिटर खानेतेल, १० किलो नून वडावासीबाट संकलन भएको थियो ।

यसैगरी, वडा नम्वर १० स्थित भूल्के पशुपति सामुदायिक वन उपभोक्ता समूहले ५० हजार मुल्य बराबरको खाद्यान्न सामग्री उपलब्ध गराएको छ । ६ सय ७५ केजी चामल, ५० केजी दाल, ५० लिटर खानेतेल, ५० केजी नून र १ सय वटा साबुन उपलब्ध गराएको छ ।

यसअघि सोही वडाको ओमसिआर जम्बुलिङ बज्र गुम्बाले १० नम्वर वडा कार्यालयमार्फत २० हजार रुपैयाँ बराबरको खाद्यान्न राहत उपलब्ध गराएको छ । जसमा, ३ सय किलोग्राम चामल, १,१ केजीका ३० पोका दाल, आधालिटरको ३० पोका तेल, ३० केजी नून र ३० वटा साबुन रहेको छ ।

पथरीशनिश्चरे १० का समाजसेवी युवा प्रेम ढकाल र श्रीमती मञ्जु ढकालले १० हजार मुल्य बराबरको २ सय ५० केजी चामल यसअघि वडा समितिमा हस्तान्तरण गरेका थिए । यसैबीच, पथरीशनिश्चरे १ स्थित ‘विशाल सहयोगी मन’को तर्फबाट संयोजक धनकुमार तामाङले ५ सय केजी चामल नगरको राहत समितिलाई हस्तान्तरण गरेका थिए ।

यसैगरी, ४ नम्वर वडामा ध्रुवकुमार बराइलीबाट १ सय किलोग्राम चामल, प्रतिज्ञा विश्वास मण्डलीबाट १ सय ५० पोका नून र संयुक्त वडास्तरीय महिला समितिबाट ७५ किलोग्राम चामल, १ काटन तेल हस्तान्तरण भएको थियो । यसैगरी, राष्ट्यि युवा संघले शनिश्चरे स्वास्थ्य चौकीका लागि २ थान पीपीइ सेट प्रदान गरेको छ ।

नेपाली कांग्रेस ६ नम्वर वडा समितिले २ हजार थान मास्क वडाको राहत समितिलाई हस्तान्तरण गरेको छ । १० नम्वर वडाध्यक्ष सागर राई र उहाँका बुबा गुल्सन राईको सहकार्यमा वडामा ४ हजार मास्क वितरण गरिएको छ । कार्यपालिका सदस्य मैनादेवी फूयाँल आचार्यले सयौं मास्क आफैंले सिलाउनु भएको छ । यस क्रममा उहाँले १ सय वटा मास्क १० नम्वरमा रहेका भूटानी शरणार्थीहरुलाई वितरण गरेको छ ।

सम्बन्धित खवर