ब्राउन सुगरसहित पथरी बजारका चार जना युवा पक्राउ

भदौ १९, पथरी । अवैध लागूऔषध ब्राउन सुगर सहित खरिद बिक्रीमा संलग्न पथरीशनिश्चरेका ३ र तरहराका १ जनालाई प्रहरीले उर्लाबारीबाट पक्राउ गरेको छ ।

मोरङको पथरीशनिश्चरे–१ का ४० वर्षीय सञ्जय सहनी, १९ वर्षीय मिथुन मण्डल, २५ वर्षीय रामकुमार सहनी र सुनसरीको इटहरी–१९ तरहरा घर भई उर्लाबारी–३ मा डेरा गरी बस्ने २४ वर्षीय जीवन विश्वकर्मा पक्राउ परेको हो । चारै जनालाई उर्लाबारी–३ मंगलबारेस्थित विश्वकर्माको डेराबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जनाए ।

प्रवक्ता दाहालका अनुसार लागूऔषध ब्राउन सुगर(खैरो हेरोइन) को कारोबार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले पक्राउ गरेको हो । प्रहरीले सोमबार बिहान ८ बजेतिर विश्वकर्माको डेरा घेराबन्दी गरी छापा हानेको थियो । डेरामा खानतलासी गर्दा कोठाभित्र खाटको सिरानीमुनि कागजमा बेरेर राखेको अवस्थामा १४ थान(पुरिया) फेला पारेका थिए । फेला पारिएको खैरो हेरोइन ३ सय ९० मिलिग्राम भएको डीएसपी दाहालले बताए ।

ब्राउन सुगर किनबेचमा संलग्नलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको छ । उनीहरुविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाइने जानकारी दाहालले जानकारी दिए ।

सम्बन्धित खवर