पूर्वकै नमुना वन पर्यटकीय क्षेत्रको रुपमा उदय हुदै रियाली वन

भदौ २ गते, पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका–२, स्थित हरियाली समुदायिक वनले पूर्वकै नमुना वन पर्यटकीय स्थलको रुपमा निर्माण गर्ने भएको छ ।

वन उपभोक्ता समितिले पर्यटकीय क्षेत्र विकास गर्न कम्पनी दर्ता गरेर सेयर खरिदको लागि सूचनामार्फत १ करोड संकलन गरिसकेको छ । कम्पनीले समुदायिक वन भित्र वन विकास र जंगली जनावरलाई असर नपर्ने गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न २० करोड रुपैयाँ लगानी गर्ने योजना बनाएर शेयर आव्हान गरेको थियो ।

कम्पनीले स्विमिङ पुल, ट्रीहाउस, बोटिङ, साइक्लिङ, बाल उद्यम, झर्ना, गार्डेन, विभिन्न रंगीन माछासहितको एक्युरियमम, नेपालको आकारमा बोटिङसहितको पोखरी निर्माण गर्ने योजना गरेको वन अध्यक्ष काबुलबहादुर(विकास) मगरले बताए । कम्पनीले पर्यटकीय क्षेत्रको साथै शेयर सदस्यहरुलाई रोजगारी दिने उद्देश्यले कृषि लगायतको क्षेत्रमा पनि लगानी गर्ने योजना रहेको बताइएको छ । अहिले पहिलो चरणको सेयर खरिदको सूचना बन्द गरिएको र केही समय पछि दोस्रो सूचना गर्ने तयारीमा रहेको वनका अध्यक्ष मगरले बताए ।

शेयर खुलेको २० करोडमा नगरपालिकाले १० र बाँकी रहेको ९० प्रतिशत मध्ये हरियाली सामुदायिक वन उपभोक्ता समितिले ३५, हरियालीको उपभोक्तालाई २५, नगरपालिकाभित्रका मतदाता परिचय पत्रको आधारमा २० र उद्यम तथा पर्यटनसम्बन्धी काम गर्दै आएका निजी क्षेत्रका कम्पनी तथा व्यक्तिहरुका लागि १० प्रतिशत शेयर वितरण गर्ने निर्णय भएको थियो ।

कम्पनीले हरेक शेयरधनीलाई पहिलो किस्तास्वरुप प्रतिबद्धताको २० प्रतिशत रकममात्र माग गरेको छ । जसमध्ये वनको उपभोक्ता, नगरको मतदाता, पथरीशनिश्चरे नगरपालिका, उद्योग वाणिज्य संघ, निजी कम्पनी, जनप्रतिनिधि, उद्योगी व्यवसायी, पत्रकार गरी ८०५ जनाबाट ९६ लाख ११ हजार नगद जम्मा भएको कम्पनीका अध्यक्ष देवीप्रसाद भेटवालले बताए । पथरीशनिश्चरे नगरपालिकाले कुल लगानीको १० प्रतिशत अर्थात् दुई करोड लगाउने लिखित प्रतिबद्धता दिएको छ । हरियाली सामुदायिक वन आफैले ३५ प्रतिशत बराबर हुन आउने ७ लाख शेयर लगाउँदै छ ।

पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई, ३ नम्बर वडा अध्यक्ष डम्बर चेम्जोङ, विभिन्न वडाका सदस्यहरु काशिहाङ राई, अग्नि गुरुङ, कुमारी सार्की, वन कर्मी तथा नेपाली कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू, नेकपा मोरङ जिल्ला सदस्य दिनानाथ तिम्सिना लगायतले संस्थापक शेयर लगाएको कम्पनीले जनाएको छ । त्यसैगरी पथरी उद्योग वानिज्य संघका अध्यक्ष दीपक बस्नेत, नेपाल आदिवासी जनाजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश सहित नेपाल पत्रकार महासंघ मोरङ जिल्लाका पत्रकारले समेत संस्थापक शेयर खरिद गरेका छन् ।

मोरङ लेटाङको बीबी ट्रेड सेन्टरले १० लाख, पथरी उद्योग वाणिज्य संघ, पथरीकै कृष्ण इम्पोरियम, साल्पा होटेल, प्रशान्त फ्रेन्सी स्टोर, नमस्ते बुद्ध इन्भेस्टमेन्ट र वन उद्यम पूर्वाधार बैंक काठमाडौले ५–५ लाखको दरले शेयर खरिद गरेको छ । झापा दमकको खजुम साना निर्माण सेवा, पथरीकै सगुन होटल, ए वान समिल, सुम्हालुङ कृषि फर्माले २–२ लाखको दरले शेयर खरिद गरेका छन् । अहिले कम्पनीको नियमअनुसार प्रतिबद्धको २० प्रतिशत रकम जम्मा भएको हो ।

सम्बन्धित खवर