१२ साउन, भेडेटार । आन्तरिक तथा बाह्रिय पर्यटक तान्न भेडेटारमा स्काइवाक टावर सञ्चालनमा आएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका ९६ भेडेटारको चाल्स पोइन्टमा स्काइवाक टावर सञ्चालनमा आएको हो ।
भेडेटारलाई साहसिक पर्यटनको हब बनाउने प्रयासअनुसार शुक्रवारबाट टावर औपचारिक रूपमा सञ्चालनमा ल्याइएको थियो । भेडेटारमा स्काइवाक टावर नेपाल कै तेस्रो हो । यसअघि काठमाडौँको कमलादी, इलामको कन्याममा स्काईवाक सञ्चालनमा आइसकेको छ । भेडेटारमा सञ्चालनमा आएको स्काईवाकमा एकपटकमा २५ जनासम्म हिड्न सकिने क्षमता रहेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्काईवाकको उद्घाटन गरेका थिए । मुख्यमन्त्री कार्कीले भेडेटारलाई पर्यटकीय हब बनाउन स्काइवाकले सहयोग गर्ने बताए । उनले प्रदेश सरकारले आगामी २०८२ साललाई पर्यटन वर्ष मनाउन लागेकाले भेडेटारमा बनेको स्काइवाकले त्यसलाई सहयोग पुग्ने बताए ।
११ रोपनीमा रहेको स्काइवाकमा ५० मिटर लामो सिसामा हिड्न सकिन्छ । सिसामाथि हिँड्ने साहसिक मज्जा लिनका लागि देशकै तेस्रो गन्तव्य भेडेटार बनेको छ । स्काइ वाक २० करोड लगानीमा निर्माण गरिएको बताइएको छ ।