असोज १९ गते, उर्लाबारी । मोरङको उर्लाबारी–४ स्थित किसान चौक–टाँडी सडक खण्डको ७ सय मिटर सडक कालोपत्रे सुरु भएको छ ।
आइतबार प्रदेश सांसद लिम्बूसहित इन्जिनियरहरुको टोलीले स्थलगत अनुगमन गरी ठेकेदार पक्षलाई गुणस्तरिय काम गर्न निर्देशन समेत दिएका छन् ।
प्रतिनिधिसभाका सांसद घनश्याम खतिवडाको पहलमा संघीय सरकार मातहतको सडक डिभिजन कार्यालय मोरङबाट सडक कालोपत्रेको काम सुरु भएको मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) ले बताए ।
डुण्डी निर्माण सेवाले ठेक्का पाएको उक्त सडकको कालोपत्रे चैत्र मसान्तभित्र सम्पन्न हुने र कालोपत्रेका लागि पहिलो चरणको काम थालिएको ठेकेदार कम्पनीले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गको किसान चौकदेखि उत्तर ७ सय मिटर सडक कालोपत्रेका लागि १ करोड ११ लाख रुपैयाँमा ठेक्का लगाइएको थियो ।
त्यस्तै, सोही सडकको डे«न निर्माणका लागि पनि पहल भइरहेको उपभोक्ता सरोकार समितिका संयोजक केदार खतिवडाले जनाए ।
यस्तै, प्रदेश सांसद लिम्बूको पहलमा उर्लाबारी–१ र मिक्लाजुङ वडा नं. ६ को सिमानामा पर्ने मिक्लुक खोलादेखि मिक्लाजुङ गाउँपालिका–१ रमितेसम्म सडक कालोपत्रेको काम पनि भइरहेको छ ।